ताप्लेजुङमा खाद्यान्नको चामल बिक्री सम्वन्धी चाडपर्व छुट असोज तेस्रोसाता भित्र सार्वजनिक हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड ताप्लेजुङले असोज तेस्रो साताभित्र चाडपर्वमा सेवाग्राहीका लागि चामल बिक्रीमा छुट सहितको सहुलियत दर प्राप्त हुने बताएको छ ।

खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड शाखा कार्यालय ताप्लेजुङका निमित्त प्रमुख गोपाल राईले यो साता भित्रमा केन्द्रबाट छुट सहितको सहुलियत दर प्राप्त हुने र सोहि अनुसार ताप्लेजुङबाट समेत छुट सहितको बिक्री सुरु हुने जानकारी दिनुभयो । फुङलिङमा रहेको खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चामल बिक्री गर्दै आइरहेको छ । कार्यालयका अनुसार अघिल्लोबर्षको चाडपर्वका बेला प्रतिकिलो ७ रुपैयाँका दरले छुट हुनेगरी केन्द्रले मूल्य निर्धारण गरेको थियो । यो पटकको छुट दर आइनसकेकोले यतिनै छुट हुन्छ भनेर एकिन नभएको समेत कार्यालयले बताएको छ । यो आर्थिक बर्ष सुरु भएपछि सोना मन्सुली र जिरा मसिनो गरी दुई प्रकृतिमा चामल आएको थियो ।

चालू आवमा सोना मन्सुली १ सय ५४ क्विन्टल र जिरा मसिनो २ सय ४० क्विन्टल आएको थियो । त्यसमध्ये सोना मन्सुली ८० क्विन्टल र जिरा मसिनो १ सय ७० क्विन्टल मौज्दात रहेको कार्यालयले जनाएको छ । सोना मन्सुली जिल्ला कारागारका कैदीबन्दीका लागि बढी मात्रामा खपत हुने र थप आउने सम्भावना कम रहेकोले विगत केहिदिन देखि सर्वसाधारणका लागि भने सोना मन्सुली चामलको बिक्री क्रमशःघटाईएको कार्यालयले जनाएको छ । थप भित्रने अवस्था नभएर मौज्दात कम भएपछि सोना मन्सुली चामलको बिक्री रोकिन सक्ने समेत कार्यालयले जनाएको छ । खाद्य व्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड ताप्लेजुङमार्फत जिरा मसिनो चामल प्रतिकिलो ८७ रुपैयाँ र सोना मन्सुली प्रतिकिलो ५० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । यो असोज दोस्रो साता सम्मको मूल्य दर हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts