|

ताप्लेजुङ गोल्डकपको नाफा २३ लाख ३७ हजार रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज ५ । लाखेजात्रा सञ्चालन समितिले गत भदौ तेस्रो साता आयोजना गरेको ताप्लेजुङ गोल्डकप २०८० बाट झण्डै साढे २३ लाख रुपियाँ नाफा भएको छ । कुनै वर्ष घाटासमेत हुने गरेको गोल्डकप सञ्चालनबाट समितिले यसवर्ष भने निकै मोटो रकम नाफा आर्जन गरेको हो ।
सदरमुकाम फुङ्लिङमा बिहीबार साँझ गोल्डकपको आयव्यय सार्वजनिक गर्दै लाखेजात्रा सञ्चालन समितिले २३ लाख ३७ हजार ६४८ रुपियाँ नाफा अर्थात बचत भएको जानकारी दिएको छ । समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले प्रस्तुत गर्नुभएको गोल्डकप सञ्चालनमा भएको आयव्यय अनुसार कुल आम्दानी ७३ लाख २४ हजार ७८५ रुपियाँ रहेको छ । प्रतियोगितामा भएको टिकट बिक्री र अन्य सहयोगी दाताबाट सो रकम संकलन भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भदौ १४ देखि २० गतेसम्म सात दिनमा टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार ६०० रुपियाँ संकलन भएको थियो । बाँकी रकम विभिन्न सरकारी तथा गैर सरकारी निकाय र सहयोगी दाताबाट संकलन भएको उहाँले बताउनुभयो । उहाँले आम्दानीमा जोडिएको कुल रकममध्ये केही रकम भने समितिलाई प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिको खाता रहेको लक्ष्मी सनराइज बैंकमा आठ लाख ५८ हजार ६४८ रुपियाँ मौज्दात रहेको छ । त्यस्तै समितिलाई प्राप्त हुनेगरी सुनिश्चित भएको रकमअनुसार फुङ्लिङ नगरपालिकामा पाँच लाख रुपियाँ, पाथीभरा याङ्वरक गाउँपालिका एक लाख, सिदिङ्वा गाउँपालिका ५० हजार, सिरिजंघा गाउँपालिका एक लाख रुपियाँ रहेको छ ।
मिक्वाखोला गाउँपालिकाबाट एक लाख ५१ हजार रुपियाँ, आठराई त्रिवेणी गाउँपालिका एक लाख र फक्ताङ्लुङ गाउँपालिकाबाट एक लाख रुपियाँ प्राप्त हुनेगरी सुनिश्चित भएको समितिले जानकारी दिएको छ । फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरुबाट पनि एकमुष्ट एक लाख १० हजार रुपियाँ समितिलाई प्राप्त हुनेगरी रकम सुनिश्चित भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै व्ययतर्फ संकलित रकममध्ये ४९ लाख ८७ हजार १३७ रुपियाँ खर्च भएको समितिले जनाएको छ । खेल मैदान निर्माण तथा मर्मत सुधारमा मात्र आठ लाख ९८ हजार ८२५ रुपियाँ खर्च भएको छ । अस्थायी प्याराफिट (दर्शकदिर्घा) निर्माणमा चार लाख ९६ हजार ५१५ रुपियाँ खर्च भएको पनि समितिले जनाएको छ ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार गोल्डकपमा सहभागी खेलाडी टोली व्यवस्थापन खर्चतर्फ १० लाख ९९ हजार ६५ रुपिययाँ, रेफ्री तथा अफिसियल खर्च पाँच लाख १८ हजार १२० रुपियाँ रहेको छ । बाँकी स्टेज व्यवस्थापन, ट्रफी, मेडल, प्रमाणपत्र खरिद र पुरस्कार, कार्यालय व्यवस्थापन, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत शीर्षकमा समितिले जानकारी दिएको छ ।
समिति अध्यक्ष देवराज गुरुङका अनुसार यसवर्ष ११ दिनको छोटो अवधिभित्रै प्रतियोगिताको तयारी गर्नु परेकाले निकै चुनौतीको सामना गर्नुपरेको छ। यद्यपि, सबैको साथ र सहयोगबाट जिल्लाकै ऐतिहासिक ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भएको गुरुङले बताउनुभयो । उहाँले व्यवस्थापन, आम्दानीलगायत सबै हिसाबले विगतभन्दा यसवर्ष प्रतियोगिता उत्कृष्ट रहेको पनि दावी गर्नुभयो ।
सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको यसवर्षको प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी भएका थिए । विगत २०२२ सालदेखि लाखेजात्रा पर्वको अवसरमा विभिन्न नाम सञ्चालन हुँदै आएको प्रतियोगिता जिल्लामै ठूलो धनराशि भएको फुटबल प्रतियोगिता पनि हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts