| |

ग्रेट हिमालयन ट्रेलको पदयात्रामा विदेशी पर्यटक

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, असोज ३ । बृहत्त पदमार्गको रुपमा रहेको ग्रेट हिमालयन ट्रेल पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका छन् । ताप्लेजुङदेखि सुरु भई पश्चिम दार्चुला पुगेर टुंगिने पदमार्गमा विदेशी पर्यटकले पदयात्रा सुरु गरेका हुन् ।
उच्च हिमाली क्षेत्रअन्तर्गत रहेको ग्रेट हिमालयन ट्रेल (वृहत पदमार्ग) मा विदेशी पर्यटकले यसवर्षको पदयात्रा सुरु गरेका हुन् । प्रकृतिको अनुपम सुन्दरतामा रमाउँदै पदयात्रा गरिने भएकाले ग्रेट हिमालयन ट्रेल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएको छ । ग्रेट हिमालयन ट्रेलको पदयात्रामा आउनुभएका स्लोभेनियाका पर्यटक अहिले घुन्सा पुग्नुभएको छ ।
कञ्चनजंघा हिमालको प्रवेश स्थलका रुपमा रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेको विदेशी पर्यटक स्लोभेनियाका ६७ वर्षीय मारिया र ६६ वर्षीया आन्द्रे रहनुभएको छ । उहाँहरु ग्रेट हिमालयन ट्रेलमा पदयात्रा गर्न आएको यसवर्षको दोस्रो पदयात्री टोली बन्नुभएको छ । विश्वको अग्लो हिमाल सगरमाथा, तेस्रो अग्लो कञ्चनजंघासहित आठवटा हिमालको सफल आरोहण गरिसक्नुभएका मारिया र आन्द्रे प्रख्यात आरोही दम्पत्ती पनि हुनुहुन्छ ।
मारिया र आन्द्रे दम्पत्तीले सन् १९८६ मा सगरमाथा र सन् १९९१ मा कञ्चनजंघा हिमालको सँगै आरोहण गर्नुभएको छ । यस्तै चोयु, धवलागिरी, ब्रोड पिकसहित आठवटा हिमालको सँगै सफल आरोहण गरेर गिनिज बुकमा नाम लेखाइसक्नुभएका दम्पत्तीले ग्रेट हिमालयन ट्रेलको साहसिक पदयात्रा सुरु गर्नुभएको हो ।
पछिल्लो समय विकासका नाममा सडक लगायतका पूर्वाधार निर्माणले प्राकृतिक सौन्दर्यतामा क्षति पुगिरहेको बेला प्रकृतिलाई जोगाई राख्न र प्राकृतिक भू–बनावट तथा सुन्दरतालाई जोगाई राख्नुपर्छ भन्ने सन्देश दिनलाई आफूहरु पदयात्रामा निस्किएको बताउनुहुन्छ । नेपालमा पर्यटनको प्रसस्त रहेको र यसका लागि यहाँको प्राकृतिक सुन्दरतालाई कायम राख्नुपर्ने उहाँको भनाइ छ ।
ग्रेट हिमालयन ट्रेलको पदयात्रा पूरा गर्न कम्तीमा १२० दिन लामो समय लाग्ने पथप्रदर्शक (गाइड) इन्सुहाङ राईले बताउनुभयो । पथपदर्शक राईका अनुसार यो साहसिक पदयात्रा गर्न आफ्नै देश स्लोभेनियाबाट मारिया र आन्द्रेको जोडी योजना बनाएरै नेपाल आउनुभएको हो । ग्रेट हिमालयन ट्रेलको पदयात्रा पूरा गर्न खर्चका हिसाबले पनि निकै महङ्गो अर्थात ५० देखि ६० लाख रुपियाँसम्म रकम लाग्ने राईले बताउनुभयो ।
ग्रेट हिमालयन ट्रेलको सुरुवात विन्दु ओलाङ्चुङगोला भए पनि पदयात्रीहरु कञ्चनजंघा आधार शिविर पुगेर मात्र पदयात्रा सुरु गर्दछन् । मारिया र आन्द्रेको जोडीले पनि आधार शिविर पुगेर पदयात्रा सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँहरु ओलाङ्चुङगोलादेखि लुम्बासुम्बा हिमाल हुँदै संखुवासभाको मकालु आधार शिविरतर्फ जाने तालिका रहेको पथप्रदर्शक राईले जानकारी दिनुभयो । उहाँकाअनुसार त्यसपछि क्रमशः पदयात्रा अघि बढ्ने छ ।
ग्रेट हिमालयन ट्रेलमा पदयात्रा गर्न उहाँहरुभन्दा पहिलो टोलीको रुपमा तीन सदस्यीय बिदेशी पर्यटकको टोली यसअघि नै गइसकेको छ । साहसिक पदयात्रामा आउनुभएका जर्मनका लुकास र आन्ना तथा अस्ट्रेरियाका क्रिष्टोफरलाई सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले स्वागत गरी पदयात्रा सफलताको शुभकामना दिनुभएको थियो । उहाँहरुको टोली गत भदौ १८ गते फुङ्लिङ हुँदै ओलाङ्चुङगोलातर्फ लाग्नुभएको थियो । यता पर्यटकको आगमन हुन थालेपछि यहाँका होटल व्यवसायी उत्साहित हुन थालेका छन् भने आफूहरु पर्यटकको स्वागत तथा सत्कारका लागि आतुर रहेको फुङ्लिङस्थित होटल माउण्टेनका सञ्चालक बिमल भण्डारीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts