जिल्लास्तरसम्म सक्रिय हुँदै समाजवादी मोर्चा

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २१ । गत असार पहिलो साता घोषणा गरिएको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)सहित चार दल सम्बद्ध समाजवादी मोर्चा नेपालले जिल्लास्तरसम्म सक्रियता देखाउन थालेका छन् । केन्द्रमा घोषणा भएसँगै सक्रियता देखाउन थालेको मोर्चाले ताप्लेजुङमा पनि गतिविधि सुरु गरेका हुन् ।
ताप्लेजुङमा बिहीबार मोर्चाको पहिलो बैठक सम्पन्न गरेको जनाइएको छ । माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको प्रथम जिल्ला बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरुसमेत गरेको नेकपाका व्यूरो कार्यालय सचिव असल सीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही भदौ २५ गते विराटनगरमा हुने मोर्चाको सन्देशसभामा सक्रिय सहभागिता जनाउने, मोर्चाले तय गरेका योजना तथा कार्यक्रमलाई सक्रियतासाथ कार्यान्वयन गर्ने, जिल्लामा चाँडै मोर्चाको समिति निर्माण गर्नेजस्ता निर्णय बैठकले गरेको छ । जिल्लास्तरीय बैठकमा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता थेबे, जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ, सचिव सागरमणि गौतमलगायतका जिल्ला नेतृत्वको सहभागिता रहेको थियो ।
त्यस्तै एकीकृत समाजवादीका तर्फबाट जिल्ला अध्यक्ष छिरिङ लामा, जनता समाजवादी पार्टीका तर्फबाट जिल्ला अध्यक्ष कीर्तिमान मादेन, नेकपाका तर्फबाट केन्द्रीय सदस्य देव सी, जिल्ला इन्चार्ज नरपति सी लगायतको सहभागिता रहेको थियो । बैठकको अध्यक्षता भने माओवादी केन्द्रका जिल्ला संयोजक हाङ्बाङले गर्नुभएको बताइएको छ ।