ताप्लेजुङ रेडक्रसद्धारा जिल्ला अस्पतालाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि सामग्री प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाले आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने झण्डै साढे ५ लाख मूल्य बराबरको सामग्री ताप्लेजुङ जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ ।

रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा रेडक्रस ताप्लेजुङले ५ लाख ३३ हजार १ सय रुपैयाँ मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामालाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका कोषाध्यक्ष दिनेश अधिकारीका अनुसार ५ लाख मूल्य बराबरको एकथान ब्लड बैंक रेफ्रिजेरेटर १ थान,१८ हजार रुपैयाँ मूल्य बराबरको भिडिआरएल रोटाटोर १ थान,१५ हजार मूल्य बराबरको डोनरबेड कम्फोर्ट १ थान र १ सय रुपैयाँ मूल्य बराबरको रक्तदान गर्दा समाउने बल १ थान हस्तान्तरण गरिएको छ ।

ताप्लेजुङमा अहिले सम्म रक्तबैंक छैन । नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,अन्य कर्मचारी र स्थानीय नागरिकको रक्त समूह छुट्टयाई आवश्यक परेको बेला स्थानीय नागरिकको अगुवाईमा रक्त समूह मिल्नेहरुलाई बोलाई रक्तदानको प्रवन्ध गरिदैं आएको छ । स्थानीय दिनेश खवास,लक्ष्मीप्रसाद काफ्ले,विकास गौतम सहितको अगुवाईमा रक्त समूह मिलेकाहरुलाई जिल्ला अस्पतालमा बोलाएर रक्तदानका लागि अनुरोध गर्दै रक्त अभाव टार्ने गरिएको छ । प्राप्त सामाग्रीले अब रक्त भण्डारणका लागि पनि सघाउने ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगर बताउनुहुन्छ । यसैबीच रेडक्रसकर्मीहरुले प्राप्त सामाग्रीहरुको उचित संरक्षण र जर्गेनामा ध्यान दिन अस्पताल विकास समिति र अस्पताल प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

अस्पताल विकास समिति अध्यक्ष लामाले आफुहरु सामाग्री व्यवस्थापनमा सम्बेदनशिल भएर लाग्ने बिश्वास दिलाउनु भएको छ । बिक्रम् सम्वत २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको हो । ताप्लेजुङमा २०३१ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी हिरामान श्रेष्ठको संयोजकत्वमा जिल्ला तर्दथ समिति बनेको थियो । पछि अधिबेशन भई जिल्ला रेडक्रस सोसाईटीले औपचारिकता पाएको बताईएको छ । २३ वटा उपशाखा रहेको ताप्लेजुङमा २ हजार ९ सय ७२ जना आजीवन सदस्य रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts