मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि बिरुद्ध कर्मचारी हावी,ताप्लेजुङ गोल्डकपको अन्तिम सेमीफाईनल आज
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १९ । निजामति सेवा दिवसको अवसरमा मंगलवार ताप्लेजुङको फुङलिङमा सम्पन्न मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि टिम बिरुद्ध कर्मचारी टिम हावी भएको छ ।
महिला र पुरुष दुबै खेलमा जनप्रतिनिधिको टिमलाई स्तब्ध पार्दै कर्मचारीको टिम बिजयी भएको हो । कर्मचारी मिलन केन्द्र ताप्लेजुङका अध्यक्ष टंकबहादुर भट्टराईका अनुसार महिला जनप्रतिनिधि र महिला कर्मचारी टिम बीचको मैत्रीपूर्ण फुटबलमा महिला कर्मचारी टिम ४–० ले बिजयी भयो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको कप्तानीमा महिला कर्मचारीको टिम र फुङलिङ नगर उपप्रमुख भीमादेवीको कप्तानीमा महिला जनप्रतिनिधिको टिम भिडन्तमा थिए । उता प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामको कप्तानीको रहेको पुरुष जनप्रतिनिधिको टिम जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)राजन लिम्बूको कप्तानीमा रहेको टिमसंग ३–१ ले पराजित भयो ।
कर्मचारी मिलन केन्द्रका सचिव विज्ञान बञ्जाराले जनप्रतिनिधि र कर्मचारीका बीचमा कायम सद्भाव र भातृत्वलाई निरन्तरता दिन निजामति सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल खेलाईएको बताउनुभयो । दुबै टिमका बिजेताले पुरस्कार एक–एक वटा ‘खसी’पाएका छन् । हरेक बर्षको भदौ २२ गते निजामति सेवा दिवस मनाउने गरिन्छ । यो बर्ष कर्मचारी मिलन केन्द्र ताप्लेजुङले मैत्रीपूर्ण फुटबल,स्वास्थ्य सचेतना कार्यक्रम,कवि गोष्ठी र अन्तरकृया सहितका कार्यक्रम राखेको मिलन केन्द्रका अध्यक्ष भट्टराईले बताउनुभयो ।
यसैबीच, जारी ताप्लेजुङ गोल्डकपको फाईनल यात्राका लागि मंगलवार अपरान्ह रेडहर्ष फुटबल क्लव इलाम र रेडस्टार फुटबल क्लव बिर्तामोड झापा भिड्दै छन् । जारी ताप्लेजुङ गोल्डकपको यो दोस्रो सेमीफाईनल हो । सोमवार भएको पहिलो सेमीफाईनलमा पथरी–११ फुटबल क्लव मोरङलाई हराउँदै जुट विकास फुटबल क्लव ईटहरी सुनसरी फाईनल प्रबेश गरिसकेको छ । बुधवार फाईनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।