ताप्लेजुङका ६१ वटै वडामा जनतासँग माओवादीः विषेश रुपान्तरण अभियानको सुरुवात
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १६ । ताप्लेजुङको ६१ वटै वडामा शनिबार एकसाथ नेकपा (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को सुरुवात भएको छ । सत्तारुढ माओवादी केन्द्रले सुरु गरेको तीन महिने अभियान ताप्लेजुङसहित देशभरका सबै वडामा शनिबारदेखि सुरुवात गरिएको हो ।
प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल रुपमा ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ को उद्घाटन गर्नुभएको छ । अध्यक्ष प्रचण्डद्वारा अभियानको उद्घाटन भएसँगै देशभरका वडाहरुमा अभियान सञ्चालन भएको हो ।
माओवादीले अभियान सञ्चालनका लागि केन्द्र र प्रदेश तहका नेताहरुलाई वडा वडाको कमाण्डर (नेतृत्व) बनाएर खटाएको छ । सोही क्रममा ताप्लेजुङका वडाहरुमा पनि प्रदेश तथा केन्द्रीय स्तरका माओवादी नेताहरु वडा वडामा खट्नुभएको छ भने उहाँहरुकै नेतृत्वमा जिल्लाका प्रत्येक वडामा शनिबारदेखि अभियान सुरुवात गरिएको छ ।
अभियानका ताप्लेजुङ जिल्ला इन्चार्जको जिम्मेवारीमा खट्नुभएका माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता थेबे (प्रमिला) को उपस्थितिमा यहाँको फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकमा अभियानको सुरुवात गरिएको छ । पालिका अध्यक्षसमेत रहनुभएका माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार तापेथोकको हेल्लोकमा कार्यक्रम आयोजना गरिएको छ ।
अभियानमार्फत जनताको घरघरमा जाने र जनताको आवाज सुन्ने माओवादीको योजना छ । माओवादीले यस अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको पनि बताएको छ । जनतासँग सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको माओवादीले जनाएको छ । सोहीअनुसार ताप्लेजुङमा पनि शनिबार अभियानको सुरुवात गर्दै सरसफाइ, वृक्षारोपण, श्रमदानमार्फत सडक मर्मतजस्ता कार्यहरु गरिएका छन् ।
त्यस्तै बैठक प्रशिक्षण, शहीद तथा बेपत्ता परिवार सम्मान, श्रम अभियान, मजदुर, किसान, उत्पीडित समुदाय र आम नागरिकसँगको संवाद तथा भेटघाटका कार्यक्रमहरु भएका माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङका अनुसार केन्द्र तथा प्रदेशबाट अभियानका लागि खट्नुभएका माओवादी नेताहरुको नेतृत्वमा अभियानको सुरुवात भएको छ । अभियानमा जिल्लाभरका जिल्ला, पालिका, वडा र टोल तथा सेल कमिटीमा आवद्ध सबै नेता कार्यकर्ता अभियानमा एकजुट भएको खट्नुभएको हाङ्बाङले जानकारी दिनुभयो ।