पाथीभरा मन्दिरबाट माथिल्लो फेदी सम्मको पदमार्गमा चालू बर्षमै फाइवरको छाहारी लगाउने कार्य पूरा गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य चालू आर्थिक बर्षमा पूरा गरिने भएको छ ।

माथिल्लो फेदीबाट मन्दिर सम्मको दुरी २ हजार ४ सय मिटर रहेकोमा अहिले सम्म करिव १ हजार मिटर (एक किलोमिटर)दुरीमा फाइवरको छाहारी लगाउने कार्य पूरा भएको छ । बाँकी १ हजार ४ सय मिटर(१.४ किलोमिटर)दुरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य ३ हजार ७ सय ९४ मिटर उचाईको मन्दिरक्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालू आर्थिक बर्षमा संघीय सरकार,प्रदेश सरकार अन्य दाता तथा निकायसंग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत इस्टिमेट तयारी सहितको प्रारम्भिक कार्य अघि बढाएको बताएको छ । अहिले सम्मको फाइवरको छाहारी लगाएको लागत अनुमानका आधारमा अब फाइबरको छाहारी लगाउन ३ करोड ५० लाख हाराहारी रकम खर्च हुने स्थिति देखिएको छ ।

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तार संगै फलामे ट्रस जडान गरी फाइवरको छाहारी लगाएको छ । बाँकी क्षेत्रमा सोहि प्रकृतिको योजना अघि बढाईने छ । यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दाँया–बायाँ रेलिङ लगाएको समितिले जनाएको छ । पदमार्ग नै ढाक्नेगरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छाहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । फाइवरको छाहारी लगाउने कार्य पूरा भएमा हिउँको र पानी परेको समयमा पनि हिउँको र पानीको प्रभाव बेगर तिर्थालुहरु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको बिश्वास रहेको छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटी सम्म यातायातका सवारी साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिर सम्मको दुरी ४.५ किलोमिटर रहेको छ ।

मन्दिरबाट २ हजार ४ सय मिटर तल रहेको माथिल्लो फेदी सम्म फाइवरको छाहारी लगाउने कार्य पूरा भएमा तीर्थालुले २ हजार १ सय मिटर मात्र खुल्ला क्षेत्रमा हिड्नु पर्छ । तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिर सम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दुरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकोले यो क्षेत्रमा फाइबरको छाहारी लागेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाई रहेको छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जानेहरु केहि बाहेक अधिकाँस माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव समेत कम हुने गरेकोले तीर्थालुका लागि यो दुरीको पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts