बर्षदिनमा ताप्लेजुङमा १३८ नयाँ उद्यमी सृजना,करिव ७ सयले पाए रोजगारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २२ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० को एकबर्षे अवधिमा करिव ७ सय जनामा नयाँ रोजगारी सृजना भएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नविन भट्टराईका अनुसार आव २०७९।८० मा कूल ६ सय ९६ जनाले नयाँ रोजगारी पाएका छन् । त्यसमा ४ सय ४२ पुरुष र २ सय ५४ महिला रहेको कार्यालयले जनाएको छ । एक आवमा कूल १ सय ३८ जना भने नयाँ उद्यमी सृजना भएका छन् । ति मध्ये ८१ जना पुरुष र ५७ जना महिला रहेको समेत भट्टराईले जानकारी दिनुभयो । यिनै उद्यमीमार्फत करिव ७ सयले एक आवमा नयाँ रोजगारीको मौका पाएको समेत घरेलु कार्यालयले जनाएको छ । कार्यालयले ६ वटा बिभिन्न शीर्षकका कार्यक्रमार्फत २५ वटा तालिम सञ्चालन गरेर ५ सय ६ जनालाई सीप विकास र सीप हस्तान्तरण गरेको जनाएको छ । जस अनुसार ४ वटा उद्यमशिलता तालिम,४ वटै उद्योग प्रवद्र्धन सम्वन्धी तालिम,१२ वटा उद्यमी सृजना तथा रोजगारमुलक कार्यक्रम र ४ वटा स्थापन्न उद्यमीहरुका लागि स्तरोन्नती कार्यक्रम सञ्चालन भएको छन् । कार्यालयले भिन्न क्षमता भएका व्यक्तिहरुका लागि एउटा सीपमुलक तालिम समेत दिएको जनाएको छ ।
ताप्लेजुङमा अहिले सम्म करिव सोह्रसय उद्योग दर्ता छन् । कार्यालयका अनुसार हाल सम्म १ हजार ५ सय ८९ उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०७४।७५ सम्ममा ९ सय ६१ उद्योग दर्ता भएकोमा त्यसपछि आव २०७९।८० सम्ममा ६ सय ८० उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७।७८ मा सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । सो आवमा २ सय ६१ उद्योग दर्ता भएका थिए । आव २०७५।७६ मा सबैभन्दा कम ४२ वटा मात्र उद्योग दर्ता भए । आव २०७६।७७ मा ६२ वटा,आव २०७८।७९ मा १ सय ३८ वटा र आव २०७९।८० मा १ सय २७ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आव २०७८।७९ भन्दा आव २०७९।८० मा ११ वटा कम उद्योग दर्ता भएका छन् ।