एकसाता भित्रमा ताप्लेजुङको मैवाखोलामा अस्थायी एकिकृत बस्ति कक्ष निर्माण भईसक्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एकसाता भित्रमा अस्थायी एकिकृत आवास निर्माण कार्य पूरा गर्ने भएको छ ।

बस्तिका लागि आवश्यक पर्ने शौचालय,पानी धारा र ढल निकास कार्य समेत पूरा भएपछि पहिरो पीडित तथा प्रभावितलाई स्थानान्तरणको कार्य सुरु हुने पालिकाले जनाएको छ । ६५ वटा अस्थायी एकिकृत आवास निर्माण गर्दै आएको पालिकाले आइतवार बिहान सम्ममा ५१ वटा आवास निर्माण कार्य पूरा भएको जानकारी दिएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले यो साता भित्र एकिकृत बस्ति निर्माणको कार्य पूरा हुने जानकारी दिनुभयो । उहाँका अनुसार बस्तिका लागि आवश्यक पर्ने शौचालय,पानी धारा र ढल निकासको कार्य समेत एकसाथ अघि बढाईने छ । सुरुमा ६४ वटा अस्थायी घर निर्माण गर्ने योजना बनाईएकोमा पछि ताम्राङ टोलका थप एक परिवारलाई समेत सुरक्षित स्थानान्तरण गर्नेगरी मैवाखोला गाउँपालिका वडा नं ३ मा निर्माणाधिन मदन भण्डारीको रंगशालाभित्र ६५ वटा अस्थायी एकिकृत आवास निर्माण भइरहेको छ ।

परिवार संख्याका आधारमा आवास कक्षलाई वर्गिकरण गरिएको समेत पालिका अध्यक्ष वनेमले बताउनुभयो । उहाँका अनुसार १ जना देखि ५ जना सम्म सदस्य भएको परिवार ‘ए’मापदण्डको आवास कक्षमा रहने छन् । यो प्रकृतिको परिवारका लागि २ कोठा कोठा र एउटा भान्छा कक्ष हुने छ । यस्तै १ देखि ८ जना सम्म सदस्य भएका परिवार ‘बि’मापदण्डको आवास कक्षमा रहने छन् । त्यहाँ ३ वटा कोठा र एउटा भान्छा कक्ष हुने छ । १२ जना सम्म सदस्य भएको परिवारका लागि ‘सि’मापदण्डको आवास कक्ष बनाईन्छ । त्यहाँ ४ वटा कोठा र एउटा भान्छा कोठा हुने छ । ४ वटा घरपरिवारले प्रयोग गर्नेगरी बाहिरपट्टी २ वटा शौचालय र एउटा नुहाउने कक्ष बनाईने छ । त्यहाँ सार्वजनिक धारा समेत राख्ने पालिकाको तयारी छ । यसो गर्दा अस्थायी एकिकृत आवास कक्षमा ३६ वटा शौचालय र १८ वटा नुहाउने कक्ष हुनेछन् ।

पालिकाले खानेपानीका लागि खानेपानी डिभिजन कार्यालय र ढल निकासका लागि सिचाँई डिभिजन कार्यालयसंग समन्वय भइरहेको बताएको छ । एकिकृत बस्ति निर्माणको क्रममा अधिकाँस स्थानीय उत्पादनका निर्माण सामाग्री प्रयोग गरेको पालिकाले बताएको छ । आवास निर्माणको क्रममा टोल विकास संस्था,बिद्यालय परिवार,स्थानीय समुदाय जुटीरहेको समेत पालिकाले जानकारी दिएको छ । जस्तापाताका लागि सहयोगी मनहरु अग्रसर भईसकेकोले जस्तापाता प्राप्त हुनेमा पालिका बिश्वस्त रहेको छ । बाँस,काठ सहितका सामाग्री स्थानीयले उपलब्ध गराएका छन् । पहिरोले बस्नै नसक्ने गरी उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न पालिकाले एकिकृत अस्थायी बस्तिको अवधारणा ल्याएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts