| |

सिदिङ्वाका पहिरो पीडितलाई सरोकार केन्द्रको राहत

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका बाढीपहिरो पीडित परिवारलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले राहत रकम वितरण गरेको छ । काठमाडौंबाट आएको सरोकार केन्द्रको टोलीले गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु पुगेर बिहीबार पीडित परिवारलाई राहत वितरण गरेको हो ।
गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोबाट प्रभावित भएका परिवारलाई सरोकार केन्द्रले राहतस्वरुप आर्थिक उपलब्ध गराएको हो । केन्द्रका अध्यक्ष टंक श्रेष्ठसहित पदाधिकारीको टोलीले पीडित परिवारलाई प्रत्यक्ष भेटेर राहत रकम वितरण गरेको बताइएको छ ।
बाढी र पहिरोमा परी मृत्यु तथा बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति १२ हजार रुपियाँका दर र विस्थापित भएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको छ । यस्तै पहिरोको उच्च जोखिममा परेकालाई प्रतिपरिवार छ हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
पहिरोमा परी मृत्यु भएका तीनजना, बेपत्ता तीन जनाका परिवार, बिस्थापित २७ परिवार, उच्च जोखिममा परेका २० परिवार र घाइते भएका दुई जनालाई उपचार खर्चबापत १० हजारका दरसमेत गरी कुल आठ लाख ६७ हजार रुपियाँ राहत रकम वितरण गरिएको छ । राहत रकम सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठ, महासचिव सन्तोष मादेन, सहयोग संकलन समिति संयोजक मिङमाडण्डु शेर्पा, सदस्य अनिल खड्का, गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया लगायतले वितरण गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts