मंसिर ४ को निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भएका ६ जनाले खर्च बिबरण सार्वजनिक गरेनन्

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १६ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार भएका ६ जनाले खर्च बिबरण सार्वजनिक नगरेको पाइएको छ ।

खर्च बिबरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फका ३ जना उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयले खर्च बिबरण सार्वजनिक नगरेवापत जनही १५ हजार रुपैयाँ जरीवाना तिरी खर्च बिबरण सार्वजनिक गर्न १८ गते बिहीबार सम्मको समय दिएको छ । त्यसको ७ दिन भित्र खर्च बिबरण सार्वजनिक गरेको प्रमाणसहितको जानकारी आफुहरुलाई गराउन समेत जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी बिपिन(बान्दवराज) दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार कार्की,लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्यप्रकाश केदेम र स्वतन्त्र उम्मेदवार हरिप्रसाद बरालले चुनावी खर्च बिबरण सार्वजनिक गर्नु भएको छैन । यस्तै प्रदेशसभातर्फ उम्मेदवार भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार सुब्बा निर्वाचन क्षेत्र नं १(ख),चन्द्रबहादुर थापा निर्वाचन क्षेत्र नं १(क) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भूपेन्द्र मावो निर्वाचन क्षेत्र नं १(क) ले समेत चुनावी खर्च बिबरण सार्वजनिक नगरेको पाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले गत बैशाख ६ गते सार्वजनिक सूचना आवह्वान गर्दै चुनावी खर्च बिबरण पेश गरेकाहरुले सो बिबरण सार्वजनिक गर्नुपर्ने बताएको थियो । ताप्लेजुङबाट प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार भएका सबै उम्मेदवारले खर्च बिबरण पेश गरेको तर कतिपयले सो बिबरण सार्वजनिक नगरेको अवस्था थियो । जिल्ला निर्वाचन कार्यालयले खर्च बिबरण सार्वजनिक नगर्नेहरुलाई नगर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ को उपदफा(५)बमोजिम पटकैपिच्छे १५ हजार रुपैयाँका दरले जरीवाना हुने बताएको छ । बिहीबार सम्ममा यो रकम तिरी खर्च बिबरण सार्वजनिक गर्न जिल्ला निर्वाचन कार्यालयले समयसीमा दिएको छ । उम्मेदवारले सामाजिक सञ्जाल,रेडियो तथा पत्रपत्रिका,आफ्नो पार्टी कार्यालय वा सम्पर्क कार्यालय,वडा कार्यालय सहितका निकायमार्फत खर्च बिबरण सार्वजनिक गर्न सकिने प्रावधान रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts