मेहेले र सुरुम्खिमका पहिरो प्रभावितलाई राहत वितरण
-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १४ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले र वडा ७ सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली काँग्रेस ताप्लेजुङ र प्रदेश सभा सदस्य खगेनसिंह हाङ्गामको पहलमा संकलित राहत सामग्री मेहेले र सुरुम्खिमका बाढीपहिरो प्रभावित परिवारलाई आइतबार वितरण गरिएको हो ।
नेपाली काँग्रेस केन्द्रीय प्रचार विभाग सदस्य शिला इजमका अनुसार खाद्यान्न (चामल) लगायतका राहत सामग्री पहिरो प्रभावित परिवारलाई वितरण गरिएको छ । आइतबार सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेले र ७ सुरुम्खिमकासमेत १०३ प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको इजमले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोका कारण पूर्णरुपमा विस्थापित परिवारलाई प्रतिपरिवार ३० केजी चामल, एक लिटर खानेतेल, एक केजी दाल, दुई केजी नुन र एक केजी चिउरा साथै एउटा साबुन वितरण गरिएको छ । त्यस्तै पहिरोको जोखिममा परेकालाई प्रतिपरिवार १५ केजी चामल, आधा लिटर खानेतेल, एक केजी, एक केजी चिउरा लगायतका सामग्री वितरण गरिएको राजीव माबोहाङले जानकारी दिनुभयो ।
रातह सामग्र वितरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याङ, जिल्ला सचिव एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष डम्बर हाङगाम, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, काँग्रेस प्रदेश कार्यसमिति सदस्य इन्द्र केदेमको उपस्थिति रहेको थियो । त्यस्तै तरुण दलका केन्द्रीय सदस्य उदय आङ्बुहाङ, काँग्रेस सिदिङ्वा गाउँ कार्यसमिति सभापति प्रदीप राई, प्रचार विभाग केन्द्रीय सदस्य शिला इजमसहित जिल्लास्तरीय युवा नेतृत्व लगायतको सहभागिता रहेको बताइएको छ ।
बाँकी रहेका अन्य वडाहरुमा पनि बाढीपहिरो प्रभावितलाई क्रमशः राहत सामग्री वितरण गर्दै जाने नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ । सिदिङ्वामा गाउँपालिकामा बाढीपहिरोमा परी तीनजनाको मृत्यु भएको छ भने तीनजना बेत्तपा भएका छन् । यस्तै दुई जना घाइते भएका छन् । बाढीपहिरोका कारण विस्थापित हुने २७ परिवार, उच्च जोखिममा परेका २० परिवार र जोखिममा परेका ७३ परिवार रहेका गाउँपालिकाको तथ्याङक रहेको छ ।