ताप्लेजुङका पहिरो पीडितका लागि राहात संकलन र बितरण तीव्र,सरोकार केन्द्रले उठायो साढे ११ लाख बढी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १४ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ ।
केन्द्रका सल्लाहकार तथा नेपाली सेनाका अवकासप्राप्त उपरथी अनन्तबहादुर थेबेको अगुवाई र पहलमा ११ लाख ४० हजार ५ सय ४९ रुपैयाँ संकलन भएको ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभयो । सरोकार केन्द्रका पूर्व अध्यक्ष चित्रगुप्त साँवाका अनुसार थेबेले आफ्नो पहल र अगुवाईमा संकलन भएको रकम तीनकिस्ता गरेर सरोकार केन्द्रलाई हस्तान्तरण गर्नु भएको छ । पहिलो पटक ३ लाख ६४ हजार १ सय ५ रुपैयाँ,दोस्रो पटक ५ लाख १ सय ८८ रुपैयाँ र तेस्रो पटक २ लाख ७६ हजार २ सय ५६ रुपैयाँ हस्तान्तरण भएको केन्द्रले जनाएको छ । सरोकार केन्द्र पेशा व्यवसायको सिलसिलामा ताप्लेजुङबाट उपत्यका गई बसोबास गर्नेहरुद्धारा गठित निकाय हो । सुरुमा ताप्लेजुङ सरोकार केन्द्र मात्र क्रियाशिल रहेकोमा विगत केहि समय देखि ताप्लेजुङ समाज काठमाडौं पनि स्थापित भई क्रियाशिल छ ।
यता ताप्लेजुङको सिदिङ्वाका पहिरो पीडित तथा प्रभावितहरुलाई १५ लाख ९० हजार ६ सय ५० रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियान सिदिङ्वाको अगुवाईमा संकलित उक्त रकम सिदिङ्वाका ७ वटै वडामा पुगेर बितरण गरिएको यसका अभियान्ता मध्येका एक राजकुमार बाँनियाले जानकारी दिनुभयो । यसअघि कलाकार कृष्ण कडेंल नेतृत्वमा आएको ‘इन्द्रेणी’ टोलीले सिदिङ्वाका पहिरो पीडितलाई ४ लाख २० हजार रकम हस्तान्तरण गरेको थियो । सिदिङ्वाका पहिरो पीडितलाई सिदिङ्वा गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाले समेत यसअघि राहत रकम हस्तान्तरण गरिसकेका छन् ।
उता ताप्लेजुङ प्रदेशसभा निर्वाचन क्षेत्र नं १(ख)बाट निर्वाचित सांसद खगेनसिंह हाङ्गामको समन्वयमा संकलन भएको २ लाख १० हजार रुपैयाँ बराबरको राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावितलाई बितरण गर्न थालिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति समेतको समन्वयमा उक्त राहत रकम बितरण गरिएको फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष समेत रहनु भएका युवा नेता क्षितिज सुनुवारले जानकारी दिनुभयो । यसअघि मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरुलाई प्रदेश सांसद हाङ्गामकै समन्वयमा संकलन भएको रकमबाट राहत बितरण गरिएको हाङ्गामको सचिवालयले जनाएको छ । हाङ्गामले आगलागी पीडितद्धय मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेपका दिलकुमार लोङ्वा र वडा नं ५ थुकिमाका फिपराज श्रेङ्चोङ्वाङलाई जनही ५ हजार रुपैयाँ बराबरको राहत सामाग्री बितरण गर्नु भएको छ ।
यसअघि प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको सहयोगमा नेकपा एमाले मैवाखोला गाउँ पालिका कमिटीले मैवाखोलाका पहिरो पीडित तथा प्रभावितलाई राहत दिएको जनाएको छ । यस्तै ताप्लेजुङका पहिरो प्रभावितहरुका लागि राष्ट्रि युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे र युवा संघको सुनसरी जिल्ला कमिटीको अगुवाईमा संकलन भएको राहत रकम युवा संघ ताप्लेजुङमार्फत पहिरो प्रभावितलाई बितरण गरिने युवा संघ ताप्लेजुङका इञ्चार्ज गोपाल न्यौपानेले जानकारी दिनुभयो । गत जेठ अन्तिम साता देखि असारको पहिलो साता सम्म परेको बर्षा र त्यसपछिको बाढी पहिरोबाट ताप्लेजुङका अधिकाँस क्षेत्रमा प्रभाव पारेको छ । सिदिङ्वा गाउँपालिकामा मात्रै ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना अझै बेपत्ता छन् ।