| |

मिक्वाखोलाका दुई विद्यालयमा खानेपानी योजना

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, साउन १० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका दुईवटा विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको छ । खानेपानीका लागि कमजोर व्यवस्थापन रहेको मिक्वाखोला गाउँपालिका–३ लिबाङको पञ्चेश्वरी माध्यमिक विद्यालय र वडा ४ साँबाको साँवा माध्यमिक विद्यालयमा खानेपानी योजना कार्यान्वयन गरिने भएको हो ।
मिक्वाखोला गाउँपालिका र ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थाको लगानी साझेदारीमा दुई वटै विद्यालयमा खानेपानी व्यवस्थापन गर्न लागिएको हो । खानेपानी व्यवस्थापन योजनाका लागि एचपीएफको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लगानी रहनेगरी समझदारी भएको बताइएको छ । सो समझदारीअनुसार योजना कार्यान्वयनका लागि मंगलबार नै सम्झौताको कार्य पनि सम्पन्न भएको छ ।
मिक्वाखोला गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष भक्तबहादुर कार्की, एचपीएफका जिल्ला प्रमुख अमित श्रेष्ठ, साँवा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार साँबा र पञ्चेश्वरी माद्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपीलाल अधिकारीबीच सम्झौता भएको छ । योजना सम्झौतामा मिक्वाखोला गाउँपालिकाका इन्जिनियर रामशङ्कर साह, एचपीएफका वरिष्ठ खानेपानी परियोजना निरीक्षक जयभक्त नेपाली र सम्बन्धित विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएको छ ।
समझदारीअनुसार साँबा माध्यमिक विद्यालयमा १६ लाख ७९ हजार ११७ रुपियाँको लागतमा पाइपलाइनसँगै मुहान संरक्षण ट्याङकी, पानी संकलन ट्याङकी र आरटी ट्याङकी साथै विद्यालय र वडा कार्यालयमा एक–एकवटा धारा निर्माण गरिने छ । त्यस्तै पञ्चेश्वरी माध्यमिक विद्यालयमा पनि १६ लाख सात हजार ५८९ रुपियाँको लागतमा पाइपलाइनसँगै मुहान संरक्षण ट्याङकी, संकलन ट्याङकी, आरटी ट्याङकी र विद्यालयसहित नजिक रहेका स्वास्थ्यचौकी र प्रहरी चौकीका लागि एक–एकवटा धारा निर्माण गरिने भएको छ ।
हाल साँबा माविमा २८५ र पञ्चेश्वरीमा २०२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । दुईवटै विद्यालयको खानेपानी व्यवस्थापन योजनाको कार्य दुई महिनाभित्रै सम्पन्न गर्नेगरी सम्झौता भएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts