सिदिङ्वाका पहिरो पीडित तथा प्रभावितलाई झण्डै १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० । समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियान सिदिङ्वाको अगुवाईमा संकलित झण्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

गाउँपालिकाबाट पीडित परिवारको एकिन बिबरण निर्णय भई प्राप्त भएको सोहि बिबरणका आधारमा सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई १५ लाख ९० हजार ६ सय ५० रुपैयाँ राहत रकम हस्तान्तरण गरिने यो अभियानका अभियान्तामध्येकाएक राजकुमार बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सिदिङ्वा गाउँपालिकाको वडा नं १ कालिखोला,वडा नं २ सादेवा र वडा नं ३ आङ्खोप,वडा नं ४ साब्लाखु,वडा नं ५ लिम्बूदिन,वडा नं ६ मेहेले र वडा नं ७ सुरुम्खिमका पहिरो पीडित तथा प्रभावित परिवारलाई राहत रकम बितरण गरिने छ ।

सिदिङ्वा गाउँपालिकाका सिर्जनशिल व्यत्तित्वहरुको अगुवाईमा संकलित राहत सहयोग अन्र्तगत मृतक तथा बेपत्ता परिवारलाई प्रति परिवार ६१ हजार रुपैयाँका दरले राहत रकम दिइने छ । सिदिङ्वा वडा नं ६ मेहेले भालुखोपमा पहिरोमा गणेश तामाङ तथा मुकुभज्याङ्का बाबुछोरा क्रमशःकेशरबहादुर राई र सुरेश राईको मृत्यु भएको थियो । भालुखोपका यादवबहादुर बुढाक्षेत्रीकी श्रीमति भगिमायाँ,बुहारी सन्ध्या र नाति प्रज्ववल बेपत्ता हुनहुन्छ । समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियानले बेपत्ता सदस्यका परिवारलाई पनि मृतक सरह राहत उपलब्ध गराउने योजना बनाएको छ । जस अनुसार मृतक गणेशबहादुरका आफन्त तथा परिवारले ६१ हजार,मृतक बाबु केशरबहादुर र छोरा सुरेशका आफन्त तथा परिवारले ६१ हजार र बेपत्ता तीनजनाका आफन्त यादवबहादुरले ६१ हजार रुपैयाँ राहत रकम पाउनु हुने छ ।

पहिरोमा परी घाईते दुईजनालाई यो अभियानमार्फत जनही २१ हजार रुपैयाँका दरले राहत रकम दिईने भएको छ । घर पूर्ण रुपमा क्षति भएका पालिका भरीका २७ परिवारलाई प्रति परिवार २४ हजार रुपैयाँका दरले राहत रकम दिईने छ । यस्तै अति जोखिममा परेका २० परिवारलाई ८ हजार रुपैयाँका दरले र जोखिममा रहेका ७२ परिवारलाई ५ हजार रुपैयाँका दरले राहत रकम हस्तान्तरण गर्ने समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियानले जनाएको छ । यो अभियान अन्र्तगत मृतकका बालबच्चाको शिक्षा र पालन पोषणका लागि ५ जना बच्चाको बैंक खाता खोली उनीहरुको खातामा १ लाख ९२ हजार ६ सय ५० रुपैयाँलाई दामाशाहीले बाँडी खातामा जम्मा गरिने भएको छ ।

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र बिपद् सहयोग अभियानले २० हजार रुपैयाँ सम्मको सहयोग रकम सोझै नगदै र सो भन्दा माथिको रकम भने चेकमार्फत हस्तान्तरण गर्ने समेत जनाएको छ । यसअघि सिदिङ्वा गाउँपालिकाले मृतक,बेपत्ता,पहिरो पीडित तथा प्रभावितलाई कार्यविधि बनाएरै सहयोग रकम हस्तान्तरण गरेको छ । सिदिङ्वाले मृतक तथा बेपत्ता सदस्यका परिवारलाई जनही ६० हजार रुपैयाँका दरले तथा पशु चौपाया गुमाएका परिवारलाई समेत राहत रकम दिएको जनाएको छ । आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वाको मेहेलेका ३ मृतक तथा ३ बेपत्ता सदस्यलाई प्रति सदस्य ५० हजार रुपैयाँका दरले राहत रकम दिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts