| |

विभेदपूर्ण व्यवहार गरिएकोभन्दै शेर्पा समुदायको ध्यानाकर्षण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ९ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा आफ्नो समुदायमाथि विभेदपूर्ण व्यवहार गरिएकोभन्दै स्थानीय शेर्पा समुदायले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । शेर्पा समुदायमाथि विभेद गरिएकोभन्दै नेपाल शेर्पा संघ मेरिङ्देन गाउँ कार्यसमिति, ताप्लेजुङ शेर्पा समाज, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र र शेर्पा सञ्चार समूह नेपाल मेरिङ्देन गाउँ कार्यसमितिले सोमबार ध्यानाकर्षण गराएको हो ।
मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) लाई नेपाल शेर्पा संघ, मेरिङ्देन कार्यसमिति अध्यक्ष लाक्पातेम्बा शेर्पाले ध्यानाकर्षणपत्र बुझाउनुभएको छ । ध्यानाकर्षणपत्र बुझाउँदै आफ्नो समुदायमाथि गरिएको विभेदपूर्ण व्यवहार सच्याउन माग गरिएको छ ।
शेर्पा संघसहित जातीय संस्थाहरुले संयुक्त रुपमा बुझाइएको ध्यानाकर्षणपत्रमा गाउँपालिकाको नयाँ प्रशासकीय भवनमा अन्य समुदायको पहिचान झल्कने पेशागत तथा साँस्कृतिक तस्बिरहरु राखिए पनि शेर्पा समुदायको नराखिएको, साइनबोर्डमा शेर्पा लिपि सम्बोटा लेखनमा पनि विभेद गरिएको उल्लेख छ ।
यसरी पालिकाकै दोस्रो ठूलो जनसंख्या रहेको शेर्पा समुदायप्रति गरिएको विभेदपूर्ण व्यवहार निन्दनीय भएको सो समुदायका अगुवाले बताएका छन् । अन्य समुदायकैजस्तो पहिचान झल्कने स्पष्ट तस्बिर राख्नुपर्ने, गाउँपालिकाको मूल प्रवेशद्वार र साइनबोर्डहरुमा सम्बोटा लिपि थप्नुपर्ने, शेर्पा समुदायको बाहुल्यता रहेको बस्तीमा योजना छनोट गर्दा कन्जुस्याँइ गर्न नहुने साथै गाउँपालिकाले नियक्ती गर्ने करार सेवाका कर्मचारीमा शेर्पा समुदायलाई प्राथमिकता दिनुपर्ने मागसमेत गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts