ताप्लेजुङ जिल्ला अदालतद्धारा ७० प्रतिशत बढी मुद्दा फस्र्योट,निर्धारित लक्ष्य नाघ्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । जिल्ला अदालत ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा ७० प्रतिशत बढी मुद्दा फस्र्योट गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले आव २०७९।८० मा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सहितका कार्यक्रम रहेपनि मुद्दा फस्र्योटमा लक्ष्य अनुसारको प्रगति हासिल हुन सकेको जानकारी दिनुभयो । आव २०७९।८० मै जिल्ला न्यायाधीस निर्मला योङ्याको कार्यालयगत चीन भ्रमण समेत रहेको थियो । अदालतले ७०.१५ प्रतिशत मुद्दाको फस्र्योट गरेको जनाएको छ । आव २०७९।८० मा अदालतले ७० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेको थियो ।

श्रेष्तेदार रेग्मीका अनुसार आव २०७८।७९ बाट जिम्मेवारी सरी आएका १ सय १० थान तथा आव २०७९।८० मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५९ थान गरी ४ सय ६९ थान मुद्दा रहेका थिए । अदालतले ३ सय २९ थान मुद्दा फस्र्योट गरेको छ । चालू आव २०८०।८१ का लागि १ सय ४० थान मुद्दा जिम्मेवारी सरी आएका छन् । अदालतले २ बर्ष नाघेको १ थान,१८ महिना देखि २ बर्ष भित्रको १५ थान,६ महिना देखि १ बर्ष भित्रको ८२ थान तथा ६ महिना भित्रका १ सय ५५ थान मुद्दा फस्र्योट गरेको जनाएको छ । अहिले अदालतमा २ बर्ष नाघेका मुद्दा शुन्यमा झरेका छन् । श्रेष्तेदार रेग्मीका अनुसार १८ महिना देखि २ बर्ष भित्रका २ थान,१ बर्ष देखि १८ महिना भित्रका १६ थान,६ महिना देखि १ बर्ष भित्रका १९ थान र ६ महिना भित्रका १ सय ३ थान मुद्दा रहेका छन् ।
फैसला कार्यान्वयनमा ७५ प्रतिशत सफलता
ताप्लेजुङ जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ तथ्याङ्कगत हिसावले ७५ प्रतिशत सफलता हाता लागेको जनाएको छ । फैसलाले स्थापित गरेका अदालतको तहशिल शाखाबाट प्रचलन गराउने कार्यलाई फैसला कार्यान्वयन भनिन्छ । व्यक्तिका प्रदत्त हक अधिकारमा कसैबाट आघात परेको अवस्थामा फैसलाको माध्यमबाट त्यस्ता हक अधिकार पुर्नस्थापित गरिन्छ । फैसलाले मुद्दाका पक्षको हक अधिकारको उद्घोषण मात्र गर्ने भएकोले फैसला कार्यान्वयन पछि मात्र न्याय पाएको अनुभूत हुन्छ ।

ताप्लेजुङ जिल्ला अदालतका तहशिलदार सूर्यप्रसाद दाहालका अनुसार अदालतको तहशिलदार शाखामा आव २०७९।८० का लागि १ सय थान मुद्दाको फैसला कार्यान्वयनको जिम्मेवारी थियो । आव २०७८। ७९ बाट जिम्मेवारी सरी आएका ५३ थान तथा नयाँ लगतको रुपमा दर्ता भएका ४७ थान मुद्दाको फैसला कार्यान्वयनको जिम्मेवारी रहेकोमा तहशिलदार शाखाबाट ७५ थान मुद्दाको फैसला कार्यान्वयन जिम्मेवारी सकिएको छ । चालू आवका लागि २५ थान मुद्दाको फैसला कार्यान्वयन जिम्मेवारी सरी आएको समेत तहशिलदार दाहालले जानकारी दिनुभयो । लेनदेनबाट फैसला भएबमोजिम बिगो भराउने,अंश सम्वन्धी मुद्दा अनुसार बण्डा छुट्याउने,क्षतिपूर्ति भराउने र माना चामल भराउने जस्ता फैसलाको कार्यान्वयन तहशिल शाखबाट हुने गर्छ ।
यस्तो छ जरीवाना र कैद सजाय असुलीको अवस्था
जिल्ला अदालत ताप्लेजुङले अहिले सम्म दोषी ठहर भएकाहरुबाट ४ करोड ५२ लाख ५२ हजार १ सय रुपैयाँ असुल हुनुपर्नेगरी फैसला गरेको छ । फैसलाले ठहरे अनुसारको असुली रकम भने एक करोड भन्दा कम रहेको छ । तहशिलदार दाहालका अनुसार फैसलाले ठहरे अनुसार असुली हुनुपर्नेमध्ये आव २०७९।८० सम्ममा ९८ लाख १ हजार ३ सय ८५ रुपैयाँ मात्र असुली भएको छ । उता,अदालतले आव २०७९।८० सम्ममा १ हजार ५ सय बर्ष २ महिना ३ दिन कैद सजाय भुक्तान हुनुपर्नेगरी सजाय तोकिएकोमा प्रतिवादीहरुबाट आव २०७९।८० सम्ममा ३ सय ८७ बर्ष ३ महिना २५ दिन मात्र भुक्तान भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts