जनश्रमदान र सहयोग संकलन गरेरै कंक्रिट सहितको डाईभर्सन बनाई छाड्यो पाँचथरको फालेलुङले,२८ दिन पछि सदरमुकामसंग यातायात सम्पर्क स्थापित

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । पाँचथरको फालेलुङ गाउँपालिकाले आफ्नै पहलमा जनश्रमदान र सहयोग संकलन गरी करिव २३ लाख रुपैयाँको लागतमा कंक्रिट सहितको डाईभर्सनमार्फत सदरमुकाम फिदिमसंगको यातायात सम्पर्क जोड्न सफल भएको छ ।

काम सुरु गरेको ११ दिनमा कंक्रिट सहितको डाईभर्सन निर्माण कार्य पूरा गरी यातायात सम्पर्क बिच्छेद भएको २८ दिन पछि सदरमुकाम फिदिमसंगको यातायात सम्पर्क स्थापित भएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । यो संगै हेंवाखोलाको शिरमा रहेको फालेलुङ घुमाउनेटारबाट फिदिम सम्म यातायात सेवा सुचारु भएको छ । आङ्देम्बेका अनुसार गणेशचौक–थर्पु–चरीभञ्ज्याङ–पञ्चमुखी हुँदै हेंवाखोला तरेर सिदिन–आकाशे मार्गमार्फत सदरमुकाम फिदिम पुगिने यो बाटो गत असार २ गते हेंवाखोलाको बाढीले पुल बगाएपछि अबरुद्ध थियो । यातायात सुचारु गर्नेगरी संकलन भएको श्रमदान र सहयोग रकम अहिले सम्मको काममा पूरै खर्च नभएको तर निर्माणका कामहरु अझै बाँकी रहेको आङ्देम्बेले बताउनुभयो ।

गत असार २ गतेको बाढी र पहिरोले फालेलुङ गाउँपालिकाको वडा नं ३ र ७,३ र ५ तथा ३ र ४ जोड्ने मोटरेवल पुल बगाएपछि पालिकाको एक्लो प्रयासले पुल निर्माण तथा पुर्ननिर्माण कार्य पूरा नहुने भन्दै गाउँपालिकाले गत असार १८ गते बिपद्मा परेको पालिकाले सहयोगका लागि सार्वजनिक आवह्वान गरेको थियो । स्थानीय तह कर्मचारी हकहित मञ्च फालेलुङ गाउँपालिकाबाट आवह्वान भएको सहयोग र जनश्रमदानमा स्थानीयले लामै अवधि र मेहनेत खर्चिएका थिए भने देशबिदेशमा रहेका स्थानीयहरुले समेत सहयोग रकम पठाएका थिए ।‘श्रमदान र सहयोगबाटै कंक्रिट सहितको डाईभर्सनमार्फत यातायात सेवा सुरु भएकोमा प्रसन्न छौं’आङ्देम्बेले भन्नुभयोे‘मन र मत एक भए जतिसुकै कठिन कार्य पनि सहजै पूरा गर्न सकिन्छ भन्ने यो कार्यले पुष्टी गरेको छ’ । उहाँले श्रमदान र सहयोगन गर्ने सहयोगी हातहरुप्रति आभार व्यक्त गर्नु भएको छ ।

बाढी पहिरोले हेंवाखोला,नवमी खोला,खेउथाम खोला,सेवा खोला समेतमा रहेका पुल सहितका संरचना बगाएपछि यि सबै संरचना एकसाथ बनाउन गाउँपालिकाको एक्लो प्रयास सम्भव नभएको ठहर गर्दै राजनीतिक दल,नागरिक समाज,स्थानीय बासिन्दा,शिक्षक,कर्मचारी सहितको छलफलले श्रमदान र सहयोग आवह्वान गर्ने निर्णय लिएको थियो । यो पुल बनेसंगै अब फालेलुङ क्षेत्रमा देखिएको दैनिक उपभोग्य बस्तु आयात तथा निर्यात र यातायात सेवाको कठिनाई तत्काललाई हटेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts