सकियो पाथीभरा याङ्वरक गाउँपालिकाको चौधौं अधिबेशन

ताप्लेजुङ,असार २८ । चालू आर्थिक बर्षको बित्तीय प्रगति समिक्षा सहित ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले पालिकाको चौधौं अधिबेशन सम्पन्न गरेको छ ।
आगामी आर्थिक बर्षको नीति,कार्यक्रम तथा बजेट पारित भएपछि चालू आव पालिकाले चालू आवको बित्तीय प्रगति समिक्षा गर्दै चौधौं अधिबेशन अन्त्य भएको पाथीभरा याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाको चौधौं अधिबेश नगत असार १० गतेबाट सुरु भई गाउँसभा सदस्यहरुको सुझाव र राय लिनका लिई अन्तिम रुप दिनका लागि स्थगित भएको थियो ।
पालिका अध्यक्ष केशरकुमार सुब्बाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाको सेवाप्रवाह सम्बन्धि गुनासा सम्बोधन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने,गाउँपालिकाको आयव्यय हरेक महिना सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने नीतिको घोषणा गरिएको थियो । पालिकाले पालिका भित्रबाट एमबिबिएस अध्यन गर्नेलाई छात्रवृत्ति प्रदान गर्ने समेत नीतिमार्फत घोषणा गरिसकेको छ ।
पालिका उपाध्यक्ष रनमाया गुरुङले प्रस्तुत गरेको आगामी आवको बजेट समेत पारित भएपछि पालिकाको चौधौं अधिबेशन सम्पन्न भएको पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ । यसैबीच पालिकाले दीर्घरोगीहरुले पाउने उपचार खर्च बापतको रकम सम्वन्धित बिरामीको खातामा पठाएको समेत जनाएको छ । उपचार खर्च बापतको रकम पाउन पालिकामा मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका, क्यान्सर रोगी, मेरुदण्डको पक्षघात भएका बिरामीले दिएको निबेदनका आधारमा प्रमाण केलाई गाउँपालिकाले औषधि उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।