रेडपाण्डाको सङ्ख्या गणना गर्नुपर्ने सरोकारवालाको जोड

-प्रयास लिम्बू
ताप्लेजुङ, असार २२ । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा (रातो हाब्रे) को सङ्ख्या गणना गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । रेडपाण्डाको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि गणना (तथ्याङ्क सङ्कलन) गर्नुपर्ने आवश्यक भएको सरोकारवालाले जोड दिएका हुन् ।
ताप्लेजुङमा रेडपाण्डा संरक्षणको कार्य गर्दै आएको हिमाली संरक्षण मञ्चले फुङ्लिङमा शुक्रबार आयोजना गरेको कार्यक्रमका सहभागीले रेडपाण्डाको गणना अर्थात तथ्याङक संकलन नगरे यसको संरक्षणमा गरिँदै आएको क्रियाकलापले पूर्णता नपाउने बताएका छन् । आजभन्दा १० वर्षअघिको तथ्याङ्कका आधारमा गरिने गतिविधिहरु रेडपाण्डाको संरक्षणको कार्यमा अपूर्ण हुने सरोकारवालाको भनाइ छ ।
कार्यक्रम अर्थात जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले तथ्याङ्कका आधारमा योजना बनाएर गरिने कामले मात्र चाहेजस्तो नतिजा दिने बताउनुभयो । ओझाले रेडपाण्डाको सङ्ख्या र पछिल्लो अवस्था कस्तो रहेको छ भन्ने जानकारी नभई संरक्षणसम्बन्धी गरिने कार्यबाट उपलब्धी नहुने बताउनुभयो ।
कार्यक्रमका अर्का सहभागी गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष खड्गविक्रम सुवेदीले पनि रेडपाण्डाको गणना गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सडक लगायतका पूर्वाधार निर्माणका नाममा हुँदै आएको वन बिनास, भू–क्षय र मावन गतिविधिले दुर्लभ वन्यजन्तु रेडपाण्डाका लागि कस्तो असर परिरहेको छ भन्ने थाहा पाउनका लागिसमेत रेडपाण्डाको गणना गर्न आवश्यक रहेको सुवेदीले बताउनुभयो ।
ओझा र सुवेदीजस्तै बैठकका अधिकांस सहभागीले रेडपाण्डा संरक्षणको क्रियाकलापसँगै तथ्याङक संकलन गर्नुपर्नेमा जोड दिएका छन् । रेडपाण्डाको सङ्ख्या र ताजा अवस्था स्थितिबारे जानकारी राखेर गरिने संरक्षणका क्रियाकलाप मात्र प्रभावकारी हुने सरोकारवालाको भनाइ रहेको छ । रेडपाण्डाको संरक्षणसम्बन्धी काम गर्दै आएको संस्थाहरुले अब सङ्ख्या गणनाको योजना बनाएर कार्यान्वयन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
यता बैठकमा हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले रेडपाण्डा संरक्षणसम्बन्धी हुँदै आएको क्रियाकलापबारे जानकारी गराउनुभएको थियो । संयोजक राईका अनुसार रेडपाण्डा पाइने क्षेत्र फुङ्लिङ नगरपालिकासहित विभिन्न सात स्थानीय तहका १३ वटा वडामा कार्यक्षेत्र बनाएर संरक्षणसम्बन्धी क्रियाकलाप गरिँदै आएको छ । रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा रेडपाण्डा संरक्षणलाई लक्षित गरी समुदायमा आधारित हाब्रे संरक्षण तथा पर्यापर्यटन कार्यक्रम गर्दै आएको राईले जानकारी दिनुभयो ।
उहाँकाअनुसार रेडपाण्डाको अध्ययन तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धनसँग सम्बन्धित कार्यहरु हुँदै आएका छन् । रेडपाण्डा संरक्षणमा टेवा पु¥याउन बासस्थान, आहारा (खुराक) व्यवस्थापन साथै अन्य वन्यजन्तुबाट हुने आक्रमण नियन्त्रणसम्बन्धी क्रियाकलापहरु गरिहेको मञ्चले जनाएको छ । त्यस्तै रेडपाण्डा संरक्षणका लागि जनचेतना फैलाउन समुदायलाई अभिमुखीकरण, रेडपाण्डाबारे पुस्तक प्रकाशन गरी विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्ने कार्य पनि भइरहेको छ ।
रेडपाण्डा संरक्षणको क्रियाकलापमा सन् २०२२ का लागि कार्यक्रम बजेट कुल एक करोड ५१ लाख १५ हजार २०९ रुपियाँ रहेको थियो । चालू वर्ष अर्थात सन् २०२३ का लागि भने दुई करोड छ लाख ९८ हजार ३६५ रुपियाँ बजेट रहेको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । रेडपाण्डा संरक्षणको कार्यसँगै थोरै बजेटले हिउँचितुवा संरक्षणसम्बन्धी पनि काम गर्ने मञ्चले जनाएको छ ।
बैठकमा रेडपाण्डा संरक्षणसम्बन्धी क्रियाकलाप गर्दा सम्बन्धित स्थानीय तह र वडासँग समन्वय गरेर काम गर्न प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले संस्थालाई सुझाव दिनुभएको छ । कामका सिलसिलामा कुनै पनि बेला समस्या आउनसक्ने भएकाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर कार्यक्रम कार्यान्वय गर्दा राम्रो हुने प्रजिअ चेम्जोङको भनाइ छ । यस्तै फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि स्थानीय तहसँगको समन्वयमा गरिने काम प्रभावकारी हुने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले समन्वय र सहकार्यमा गरिने कामले मात्र सोचेअनुसार नतिजा दिने बताउनुभयो । लामाले औपचारिक बैठक वा कार्यक्रममा मात्र नभई जुनसुकै समयमा अनौपचारिक रुपमासमेत छलफल, परामर्श गरेर काम गर्न सकिने बताउनुभयो । उहाँले हालसम्म लोपोन्मुख जीवजन्तुको संरक्षण संस्थाले गर्दै आएको योगदानको प्रशंसासमेत गर्नुभयो ।
रेडपाण्डाको गणना अर्थात तथ्याङक संकलन कार्य रेडपाण्डा नेटवर्कले आजभन्दा १० वर्षअघि सन् २०१३ को गरेको बताइएको छ । त्यस बेलाको तथ्याङकअनुसार ताप्लेजुङमा मात्र ७७ देखि १३४ वटासम्म रेडपाण्डा रहेका थिए । सन् २०१३ पछि रेडपाण्डाको गणना वा तथ्याङक संकलन र अध्ययन गर्ने कार्य नभएकाले हालको सङ्ख्या र अवस्थाबारे कुनै जानकारी छैन । उता सरोकारवालाको सझावअनुसार आगामी दिनमा कार्यक्रम बनाउने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताउनुभयो ।