याङ्लिजुङ कृषि सहकारी संस्थाद्धारा सिरिजङ्गाका पहिरो पीडितलाई खाद्यान्न सहयोग,मैवाखोलाका पीडितले पनि पाए राहत

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका पहिरो पीडित परिवारलाई फुङलिङस्थित याङ्लिजुङ कृषि सहकारी संस्थाले खाद्यान्न राहत बितरण गर्ने भएको छ । टेवा कार्यकारिणी समिति धापाखेल ललितपुरको आर्थिक सहयोगमा सिरिजङ्गा गाउँपालिकाका बिस्थापित ८१ परिवारलाई खाद्यान्न राहत बितरण गर्न लागिएको संस्थाका व्यवस्थापक अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका बिस्थापित परिवारलाई प्रति परिवार ३० किलो चामल,२ किलो दाल,२ किलो आयोडिनयुक्त नुन र दुईलिटर खानेतेल सहितका सामाग्री बितरण गरिदैं छ । यस्तै चिउरा ३ किलो,चियारंग २ सय ग्रामको एकपोका,चाउचाउ एक काटन,मिश्रित मसला १ पोका,चिनी १ किलो र हातधुने साबुन १ थानका दरले बितरण गर्न लागिएको छ । सहकारी संस्थाले जिल्ला रेडक्रस सोसाईटीसंग संस्थागत समन्वय समेत गरेको छ ।
मैवाखोलाका पहिरो पीडितले पाए खाद्यान्न सहयोग
हेल्पिङ हेण्ड कपनको सहयोगमा नेपाल शेर्पासंग ताप्लेजुङले मैवाखोला गाउँपालिकाका ६१ पहिरो पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरिएको नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष पासाङरिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो प्रभावितलाई प्रतिव्यक्ति ५० किलो चामल,५ किलो दाल,५ लिटर खानेतेल,आयोडिनयुक्त नुन २ किलो,जिरा एक पावा र साबुन एकवटाका दरले बितरण गरिएको छ । कार्यक्रममा मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेम,उपाध्यक्ष कमलकुमारी लिम्बू,निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन,मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङ,वडा नं ३ का वडाध्यक्ष खगेन्द्र थक्लुङ र वडा नं ४ का वडाध्यक्ष फुर्वा शेर्पा सहितको उपस्थिति रहेको थियो । गत जेठ मसान्त देखि असार ४ गते सम्म गएको बाढी तथा पहिरोका कारण ताप्लेजुङका बिभिन्न पालिकामा ठूलो जनधनको क्षति गरेको छ ।
पहिरोले ३६ घरमा पूर्ण क्षति,१ सय ५२ घर उच्च जोखिममा
जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पहिरोले ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । पहिरोले २ वटा खाली सहित ३६ वटा घरमा पूर्ण क्षति गरेको छ । ५ सरकारी भवन सहित १ सय ५२ घर उच्च जोखिम र १ सरकारी भवन सहित १ सय ७५ घर जोखिममा रहेका छन् । पहिरोले १० वटा झोलुङ्गे पुल,एउटा मोटरेवल पुल,६ वटा जलबिद्युत केन्द्र,२ वटा सरकारी भवन,एउटा क्रसर उद्योग,एउटा कल्भर्ट,एउटा कुखुरा फार्म र १ सय २ वटा वटा पशु चौपायामा पूर्ण क्षति गरेको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ ।मैवाखोला–४ ओदकका पहिरो पीडितलाई राहत बितरण गर्दै नेपाल शेर्पा संघका पदाधिकारीहरु ।