‘चालक र यात्रु मात्र सम्बेदनशिल भईदिने हो भने सुरक्षित र जोखिमबिहिन यात्रा सम्भव’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १९ । सवारी चालक र यात्रु मात्र सम्बेदनशिल भईदिने हो भने सुरक्षित यातायात र जोखिमबिहिन यात्रा सम्भव हुने ताप्लेजुङमा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङको संयोजनमा मंगलबारबाट सुरु भएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याईएको हो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुरक्षित यात्राका लागि चालक र यात्रुले सचेत,गम्भिर र सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गर्नु अनिवार्य रहेको उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)राजन लिम्बूले ट्राफिक नियमको उल्लंघनकै कारण सवारी दुर्घटनाको भय हुने बताउनुभयो । उहाँले ट्राफिक र प्रहरीले ट्राफिक नियमको पालना गर भन्नु भन्दा सुरक्षित यात्राका लागि आफैं सम्बेदनशिल भईदिने हो भने सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो ।

प्याब्सनका पूर्व केन्द्रीय सदस्य युवराज गिरीले साँघुरो बाटो,बिद्यालय क्षेत्र र बजारको भित्री भागमा तीव्र गतिको सवारीका कारण जतिबेलै दुर्घटनाको उच्च जोखिम हुने बताउनुभयो । उहाँले सवारीको तीव्र गति नियन्त्रण गर्न अब चालक आफैंले सम्बेदनशिल भईदिनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले ट्राफिक प्रहरीले हेलमेट लगाउन,तीव्र गति नियन्त्रण गर्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्छन्,अनि मात्र म त्यसका लागि तयार हुन्छु भन्ने गलत मानसिकता त्याग्नुपर्ने बताउनुभयो । दुर्घटनाबाट क्षति व्यहोर्ने आफु र आफ्नो सवारीमा रहेका यात्रु हुने भएकोले यस बिषयमा चालक गम्भिर हुनुपर्ने उहाँको भनाई थियो ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले ट्राफिक नियमको उल्लंघन नै सवारी दुर्घटनाको प्रमुख कारण भएकोले सवारी नियमको अनिवार्य पालना गर्न जोड दिनुभयो । यातायात व्यवसायी योगेश लिम्बूले सवारी नियमको पालना अनिवार्य सर्तको रुपमा रहने भन्दै यात्रु समेत सचेत र सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । ठाउँठाउँमा जेब्रा क्रस र रिफ्रेस सेन्टरबनाउन उहाँको माग थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)गोपाल भुजेलले सवारी नियमको पालना गर्न गराउन आफुहरु बिशेष कार्ययोजनाका साथ‘एक्सन’मा जाने भन्दै ट्राफिक नियमको पालनाका लागि सम्बद्ध सबैलाई आग्रह गर्नु भएको छ ।
फोटो ः ट्राफिक सप्ताहको कार्यक्रम शुभारम्भका बेला आफ्नो कुरा राख्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts