| |

आठराई त्रिबेणीद्वारा सिदिङ्वाका पहिरो पीडितलाई राहत वितरण

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार १८ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । सोमबार सिदिङ्वा गाउँपालिका पुगेर आठराई त्रिबेणी गाउँपालिकाका पदाधिकारीले पीडित परिवारलाई राहत रकम वितरण गरेको हो ।
आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङसहितको टोलीले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गरेको छ । सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्र साब्लाखु भञ्ज्याङमा पीडित परिवारलाई केन्द्रित गरी राहत रकम वितरण गरिएको आठराई त्रिबेणीका अध्यक्ष पोमुले जानकारी दिनुभयो ।
अध्यक्ष पोमुका अनुसार पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता हुने छ जनाका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले राहत रकम वितरण गरिएको छ । राहत रकमबापत पीडित परिवारलाई नगद नै वितरण गरिएको छ । राहत रकम अध्यक्ष पोमु, उपाध्यक्ष आङ्बुहाङ साथै सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई र उपाध्यक्ष कृष्णकुमारी कडरियाले पीडित परिवारलाई वितरण गर्नुभयो ।
यस्तै सिदिङ्वा गाउँपालिकाले पनि सोमबार नै बाढीपहिरोमा परी मृत्यु र बेपत्ता हुनेका परिवारलाई जनही ६० हजार रुपियाँका दरले राहत रकम वितरण गरेको जनाइएको छ । भीषण वर्षासँगै गत असार २ र ४ गतेको पहिरोमा परी सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । त्यस्तै सोही स्थानका एकैपरिवारका तीनजना बाढीपहिरोमा परी बेपत्ता हुनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts