मिक्वाखोलाको नीति ः कृषिमा आत्मनिर्भर बनाउन बहुबर्षिय अध्यक्ष कृषि आयोजना सुरु, मदिरा तथा सूर्तिजन्य पदार्थलाई निरुत्साहित गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रबाट किसानलाई आत्मनिर्भर बनाउने गरी अध्यक्ष कृषि आयोजना सुरु गर्ने भएको छ ।

पालिकाकै गौरवको योजनाको रुपमा अघि बढाउने नीति अघि सारेको पालिकाले यसलाई बहुबर्षे र बहुआयामिक योजना भनेको छ । गाउँसभाको १५ औं अधिबेशनमा पालिका अध्यक्ष भक्तबहादुर कार्कीले प्रस्तुत गरेको नीति अनुसार यो योजना अनुसार मिक्वाखोला क्षेत्रमा तोरी,सस्र्यु र सूर्यमुखी खेतिमार्फत पालिका क्षेत्रलाई तेलमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । मिक्वाखोलाको माटो तेलहनबालीका लागि उपयुक्त रहेको गाउँपालिकाले बताएको छ । तेलहनबालीका लागि उन्नत जातको बीउ,मल र प्रविधिको उपलब्धतालाई गाउँपालिकाले महत्व दिने छ भने यसमा प्रविधि हस्तान्तरण र अनुदान समेतलाई प्राथमिकता दिईने भएको छ ।

अध्यक्ष कृषि आयोजनामार्फत नगदेवाली अलैंची सहितको खेतिमा संलग्न किसानलाई उत्पादन र उत्पादकत्वमा सुधार ल्याउन उपयुक्त प्रविधि र उपकरणमा समेत सहयोग गर्ने पालिकाको नीति छ । अलैंची बालीमा उत्पादन बृद्धिमा जोड दिएर उपयुक्त सिचाँईको प्रवन्ध गरिने भएको छ भने गुणस्तर बृद्धिका लागि सुधारिएको भट्टी समेत बितरण गर्ने पालिकाको नीति रहेको छ । अलैंची खेतिमा नयाँपन ल्याउन पालिकाका ५ वटै वडामा अलैंची नर्सरी स्थापना गरिने भएको छ । लोपोन्मुख तथा मौलिक बालीको संरक्षण गरी ग्रामीण क्षेत्रमा बीउ बैंक स्थापना गर्ने पालिकाको नीति रहेको छ । ठाउँ तथा हावापानी र माटो सुहाउँदो फलफुल खेतिका लागि किसानलाई सहयोग गर्ने कार्यक्रम पालिकाले ल्याएको छ ।

तरकारी खेतिमा पालिकालाई आत्मनिर्भर बनाउने गरी बिपन्न परिवारको पहिचान गरी बिशेष अनुदानको व्यवस्था गर्ने,व्यवसायिक पशु तथा पंक्षि पालनका लागि पालिकाका उपयुक्त क्षेत्रहरु छनौट गरी पशुपालकलाई अनुदान सहितका प्रोत्साहन गर्ने र पशु तथा पंक्षि पालनसंगै जैविक मल तथा बिषादीको उत्पादन र उपयोगिता बृद्धि गर्ने पालिकाले बताएको छ । दुध उत्पादन बृद्धि गर्न गाउँपालिकाले जर्सी गाई पालनमा प्रोत्साहन तथा सहयोग गर्ने भएको छ ।

पालिकाले दुर्गम क्षेत्रहरुमा सामुदायिक पशु प्रजनन् केन्द्र स्थापना गरेर पशुहरुमा कृतिम गर्भाधान र पशु नस्ल सुधारका कार्यक्रम अघि सारेको छ । चरण र खर्क क्षेत्रको संरक्षण गर्न गाउँपालिकाले बिशेष कार्यक्रम ल्याउने भनेको छ । उन्नत जातका भेडा,बाख्रा,याक र चौरीको आधुनिक फर्मका लागि पालिकाले अनुदान उपलब्ध गराउने भनेको छ । हिउँद याममा पशुहरुलाई चाहिने आहाराको संरक्षण गरी मौसमी र पोषिला घाँसहरुको उत्पादनका लागि गाउँपालिकाले पशुपालकहरुलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने भएको छ ।
मदिरा तथा सूर्तिजन्य पदार्थलाई निरुत्साहित गरिने
आगामी आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले मदिरा,सूर्तिजन्य पदार्थ र अन्य लागुऔषधको प्रयोगलाई निरुत्साहित गर्ने कार्यक्रम अघि सारेको छ । त्यसका लागि गाउँपालिकाले सचेतनामूलक अभियान अघि बढाउने छ भने मदिरा,सूर्तिजन्य पर्दाथको प्रयोगलाई निरुत्साहित गर्न नियमन गर्ने भएको छ ।
लोपोन्मुख खेलहरुलाई पुर्नजागरण गरिने
पालिका क्षेत्रमा लुकेका लोपोन्मुख खेल प्रतिभा पहिचान गर्ने नीति लिएको गाउँपालिकाले त्यससंगै लोपोन्मुख खेलहरुको पुर्नजागरण गर्ने बताएको छ । पालिकाले यसका लागि आवश्यक बजेटको समेत प्रवन्ध गरेको छ । पालिकाले बिद्यालयस्तरबाटै प्रतिभा छनौट गरी खेल क्षेत्रको प्रवद्र्धनका लागि पालिका क्षेत्रका बिद्यालयहरुमा खेल सामाग्री बितरण गर्ने भनेको छ ।
प्रत्येक घरमा खानेपानी र शौचालयको अवस्था अनुगमन हुने
खुल्ला दिसामुक्त क्षेत्र घोषणा पछि नियमित अनुगमन गर्ने कार्य रोकिएको पछिल्लो समयमा मिक्वाखोला गाउँपालिकाले अनुगमन कार्यलाई पुर्नजागृत गर्ने भनेको छ । उसले पालिका क्षेत्रका प्रत्येक घरमा पानीको उपलब्धता र शौचालयको अवस्थाको निरीक्षण गर्ने छ । खानेपानीको अभाव झेलिरहेका समुदाय सदस्यलाई आवश्यकताको आधारमा खानेपानीका लागि सहयोग गरिने छ भने शौचालयको अवस्था र सफाईमा दिनुपर्ने ध्यानका बिषयमा समेत समुदाय जागरण अभियान चलाउने पालिकाको तयारी छ ।
दाउराको प्रयोग कम गर्न बिद्युतीय चुल्होलाई प्रोत्साहन
दाउराको प्रयोगबाट पर्यावरण र मानवीय स्वास्थ्यमा समेत गम्भिर असर परिरहेको भन्दै गाउँपालिकाले दाउरा प्रतिस्थापन गर्न तीनवटा बिकल्प अघि सारेको छ । जस अनुसार सुधारिएको चुल्होमार्फत दाउराको उपयोग न्यूनीकरण गरिने छने बिद्युतीय चुल्हो र ग्याँस चुल्होको प्रयोग बढाउन पालिकाबासीलाई प्रोत्साहित गर्ने गाउँपालिकाको नीति छ । पालिकाका प्रत्येक घरधुरीमा राष्ट्रिय बिद्युत प्रसारण लाइनको पहुँच नपुगेको भए स्थानीय रुपमा उत्पादन हुने साना तथा लघु जलबिद्युतको निर्माण र संरक्षणमा पालिकाले जोड दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts