ताप्लेजुङको फुङलिङ नगरपालिकाले ल्यायो आगामी आवका लागि साढे ६७ करोड रुपैयाँको बजेट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ९ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०।८१ का लागि साढे ६७ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ ।

चौधौं नगरसभा अधिबेशनमा नगरप्रमुख अमिर मादेनद्धारा आगामी आवका लागि प्रस्तुत नीति तथा कार्यक्रम सुझाव सहित पारित भएपछि नगर उपप्रमुख भीमादेवी ओझाले आगामी आवका लागि ६७ करोड ५६ लाख ४९ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो । जस अन्तरगत चालूतर्फ ४१ करोड २१ लाख ९१ हजार ५ सय रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत रकम बिनियोजन भएको छ । पुँजीगततर्फ २६ करोड ३४ लाख ५८ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत रकम बिनियोजन भएको छ ।

नगरपालिकाले क्षेत्रगत बजेटतर्फ सामाजिक विकासमा ३१ करोड ७० लाख ७३ हजार(४६.९२ प्रतिशत),पूर्वाधार विकासतर्फ १७ करोड २४ लाख ३० हजार(२५.५२ प्रतिशत),आर्थिक विकासतर्फ २ करोड २८ लाख ३५ हजार(३.३७ प्रतिशत) र सुशासन र अन्तरसम्वन्धित क्षेत्रतर्फ १६ करोड ३३ लाख ११ हजार ५ सय रुपैयाँ(२४.१२ प्रतिशत)रकम बिनियोजन भएको जनाएको छ ।

नगरपालिकाले उक्त बजेटलाई भ्याउने स्रोतहरुको अनुमान समेत गरेको छ । जस अनुसार संघीय सरकारको बित्तीय समानीकरण अनुदानबाट १४ करोड ८० लाख,राजश्व बाँडफाँडबाट ९ करोड २४ लाख ५४ हजार ५ सय,संघीय सरकारको सर्शत अनुदान ३२ करोड ५५ लाख,संघीय सरकारकै बिशेष अनुदान १ करोड १० लाख र समपुरक अनुदान २ करोड ४० लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान ९६ लाख २० हजार,प्रदेश राजश्व बाँडफाँड १ करोड ६ लाख ३७ हजार,प्रदेश समपुरक अनुदानबाट १ करोड १३ लाख,प्रदेश सर्शत अनुदानबाट ४१ लाख ८० हजार रुपैयाँ हुने नगपालिकाको प्रक्षेपण रहेको छ ।

नगरपालिकाले आगामी आवमा अल्या सहित ३ करोड ८९ लाख ५८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको छ । अल्या रकम रहेकोले नगरपालिकाले चालू आवको तुलनामा आन्तरिक स्रोतको अंक हिस्सा बढाएको जनाएको छ । नगरपालिकाले चालू आवका लागि १ करोड ९८ लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा जेठ मसान्त सम्ममा १ करोड ६० लाख १ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको जनाएको छ । उसले यो बाँकी राजश्व असुली अवधिमा लक्ष्य नाघ्ने अनुमान गरेको छ ।

नगरपालिकाले २०७९ साल चैत ६ गते भएको तेह्रौं नगरसभाबाट ७२ करोड ७६ लाख ६५ हजार १ सय रुपैयाँ शंसोधित बजेट निर्धारण गरेकोमा सर्शत अनुदानमा अपुग शिक्षक तलवभत्तातर्फ १ करोड ९७ लाख ४३ हजार थप भई चालू आवको बजेटको सीमा ७४ करोड ७४ लाख ८ हजार १ सय १० रुपैयाँ कायम भएको थियो ।

जेठ मसान्त सम्ममा चालूतर्फ ४४ करोड ३७ लाख ३१ हजार ४ सय १० रुपैयाँ बजेट मध्ये ३१ करोड ३५ लाख ६ हजार(७०.६५ प्रतिशत)खर्च भएको नगरपालिकाले जनाएको छ । यस्तै पुँजीगततर्फ २९ करोड ५ लाख ४९ हजार ७ सय रुपैयाँ बिनियोजन भएकोमा २० करोड १९ लाख ६४ हजार ८ सय ७३ रुपैयाँ (६९.५१ प्रतिशत)खर्च भएको नगरपालिकाले जनाएको छ । चालू आवमा २ सय ३७ उपभोक्ता समिति दर्ता भई २ सय २० उपभोक्ता समितिले नगरपालिकाका बिभिन्न योजना सञ्चालनको सम्झौता गरेकोमा उनीहरुको समग्र भौतिक प्रगति ८४.३८ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts