| | |

ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजना बेपत्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३ । ताप्लेजुङमा शनिबार राति गएको पहिरोले पुरिएर बेपत्ता भएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । प्रहरीका अनुसार आइतबार बिहान सबेरैदेखि बेपत्ता हुनेहरुको खोजी कार्य तीब्र पारिएको हो ।
निरन्तरको वर्षासँगै शनिबार राति गएको पहिरोले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चारजना बेपत्ता हुनुभएको छ । मेहेलेका स्थानीय यादव बुडाक्षेत्रीकी श्रीमती भगीमाया बुडाक्षेत्री, बुहारी सन्ध्या बुडाक्षेत्री र नाति प्रज्जवल बुडाक्षेत्री बेपत्ता हुनुभएको छ ।
यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिरोले बगाएर बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेहरुको अहिले खोजी कार्य सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । प्रनाउ लिम्बूका अनुसार बेपत्ता हुनेहरुको खोजी गर्ने कार्यमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।
यता वर्षाको क्रम निरन्तर रहेकाले पहिरोले पुरिएर बेपत्ता हुनेहरुको खोजी तथा अन्य जोखिममा परेकाहरुको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि मौसम प्रतिकुल भए पनि बेपत्ता हुनेको खोजी कार्य र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताउनुभयो ।
यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा बाढी पहिरोले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँठाउँमा भौतिक संरचनामा क्षति पु¥याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङकोसहित तीन घर पहिरोले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहनुभएका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो ।
यस्तै सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिव १५ परिवार बाढीपहिरोको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।
त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टंकप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घरहरु पहिरोको जोखिममा परेका स्थानीयले बताएका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेवल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिरोले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिरोले जनधनको क्षति पु¥याउन थालेको छ ।
अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो । उहास्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लाबासीलाई आग्रह गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts