| |

वातावरण दिवसमा अग्नि नियन्त्रण सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले अग्नि नियन्त्रण सामग्री वितरण गरेको छ । जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनसँग सम्बन्धित रहेर क्रियाशील संस्थालाई डिभिजन वन कार्यालयले अग्नि नियन्त्रण सामग्री वितरण गरेको हो ।
‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार दिवस मनाउँदै सुरक्षा निकायलाई अग्नि नियन्त्रण सामग्री वितरण गरिएको डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत बद्री शाहले बताउनुभयो । तीन वटा सुरक्षा निकायसहित सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङ र बामथुम्की सामुदायिक वन उपभोक्ता समूह फुङ्लिङ नगरपालिका–८ दोखुलाई एक–एक सेट अग्नि नियन्त्रण सामग्री वितरण गरिएको शाहले जानकारी दिनुभयो ।
वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वासका साथ अग्नि नियन्त्रण सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । उक्त सामग्री प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, निमित्त डिभिजनल वन अधिकृत शाहलगायतले वितरण गर्नुभएको डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितकुमार यादवले जानकारी दिनुभयो ।
सूचना अधिकारी एवम् सहायक वन अधिकृत यादवका अनुसार अग्नि नियन्त्रण सामग्री वितरणसँगै सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालय परिसरमा वृक्षारोपणसमेत गरिएको छ । कल्कीफूल, म्याग्निस्टेम, मयुरपंखी र तेजपत्ताको बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्रअजि चेम्जोङसहित प्रहरी नायव उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद थापालगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन संस्थाका प्रतिनिधि, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।
यस्तै दिवसकै अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङको अगुवाइमा जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाको चाँगेमा वृक्षारोपण गरिएको छ । महासंघका जिल्ला अध्यक्ष सुरज ओझाका अनुसार चाँगेस्थित त्रिबेणी आधारभूत विद्यालय परिसरमा कल्कीफूललगायत विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, कोशी प्रदेश समितिका अध्यक्ष तुलसी संग्रौला, वरिष्ठ उपाध्यक्ष राजेन्द्र खड्का, सव डिभिजन वन कार्यालय चाँगे दोभानका वन अधिकृत बिन्देश्वर शाह, इलाका प्रहरी कार्यालय दोभान प्रतिनिधि लगायतको उपस्थितिमा वृक्षारोपण गरिको हो । ग्रामीण क्षेत्रमा पुगेर गरिएको वृक्षारोपणले वातावरण संरक्षणसम्बन्धी सन्देश प्रवाहमा सहयोग पुग्ने अपेक्षा राखिएको महासंघका जिल्ला ओझाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts