मिक्वाखोलाका अध्यक्ष कार्की योजना माग्न मन्त्रालयहरु चाहार्दै

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की विभिन्न योजना माग गर्न मन्त्रालयहरु चाहार्दै आउनुभएको छ । अध्यक्ष कार्कीले आफ्नो पालिकाका लागि आवश्यक योजनाहरुको माग राख्दै कोशी प्रदेशका मन्त्रालयहरु चाहार्नु भएको हो ।
आइतबार मात्र अध्यक्ष कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो, भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं लगायतलाई भेटेर योजना माग गरिएको पत्र बुझाउनुभएको स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार सुन्तले–डाँडागाउँ–लिबाङ–साँवा सडक योजना, मिक्लादेन–किलिङ सडक, पापुङ उप–स्वास्थ्य चौकी भवन निर्माणको योजना माग गरिएको छ ।
यस्तै ओतोक्मा पोखरी संरक्षण, रोटिपोले थुम्मा खोला खानेपानी योजना, पापुङ खानेपानी लगायतका योजना तथा बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्रीसहित विभागीय मन्त्रीहरु र सम्बन्धित मन्त्रालयका सचिवलगायत कर्मचारीलाईसमेत भेटेर योजना तथा बजेटका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटिरहेको प्रदेश सरकारसमक्ष विभिन्न जिल्लाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले आफ्नो क्षेत्रमा योजना पार्न र आवश्यक बजेट विनियोजन गरी दिन पहल गर्दै आइरहेका छन् । सोही क्रममा यहाँको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष कार्की आफ्नो पालिकाका लागि विभिन्न योजनाको सूची बनाएर आवश्यक योजना तथा बजेटका लागि प्रदेश सरकारलाई गुहार्न जानुभएको हो ।