आठराई त्रिबेणीको शिक्षा नीति ः चाँडो हुने सरुवामा रोक,आन्तरिक सरुवा खुल्ला,प्रधानाध्यापक तीनबर्षका लागि

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २० । सुगम र घरपायक स्थानमा चाँडो स्थानान्तरण भईजाने प्रकृयाले पालिकाको शैक्षिक नतिजामा नराकारात्मक असरपर्ने भन्दै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षकको सरुवा सम्वन्धी मापदण्ड बनाएको छ ।

गाउँ शिक्षा नियमावलीमार्फत उसले यस्तो मापदण्डलाई कानुनी आधार बनाएको बताएको छ । ‘ताप्लेजुङलाई परीक्षा जिल्ला बनाएर परीक्षा लेखी पास गर्ने अनि पास भएको छोटो अवधिमै घरपायक वा सुगम स्थानमा सरुवा भईजाने प्रकृयाले शैक्षिक गुणस्तरमा सुधार हुने देखिएन’शिक्षक सरुवा सम्वन्धी मापदण्डको औचित्यता प्रष्ट्याउँदै गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले भन्नुभयो । उहाँले पालिकामा आएर निश्चित अवधि सेवा नगरी सरुवा भईजाने प्रकृयाले समग्र शैक्षिक अवस्थामा असर पर्ने भएकोले यस्तो मापदण्ड बनाईएको बताउनुभयो ।

गाउँ शिक्षा नियमावली अनुसार कुनै बिद्यालयमा कार्यरत शिक्षक अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने व्यहोरा नेपाल सरकारले तोकेको मेडिकल बोर्ड वा स्वीकृत चिकित्सकले सिफारिस गरेमा बाहेक एकपटक सरुवा भएको शिक्षकले सम्वन्धित बिद्यालयमा कम्तिमा एक शैक्षिक सत्र पूरा नगरी सरुवा गरिने छैन । बिशेष परिस्थिति बाहेक प्रत्येक शैक्षिक सत्रको पहिलो महिना मात्र शिक्षकको सरुवा सम्वन्धी कारवाही हुने व्यवस्था गरिएको छ । शिक्षा नियमावलीले आन्तरिक रुपमा शिक्षकको सरुवा गर्न सकिने कानुनी प्रवन्ध गरेको छ । जसअनुसार तह तथा बिषय मिल्ने दरबन्दी भित्र कार्यरत शिक्षक तथा कर्मचारीलाई गाउँपालिकाका एक बिद्यालयबाट अर्को बिद्यालयमा सरुवा गर्न सकिने प्रवन्ध गरिएको छ । तर,शिक्षकको सरुवा गर्दा शिक्षकको तह र अध्यापन गर्ने बिषय भने मिल्नुपर्ने हुन्छ ।

तोकिएको जिम्मेवारी तोकेको समयभित्र पूरा गरेको भनी सम्वन्धित बिद्यालय व्यवस्थापन समितिको निर्णय सहित बिद्यालय निरीक्षकबाट सरुवा सिफारिस भएमा सरुवाका अरु मापदण्ड पूरा भएको अवस्थामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । एउटा बिद्यालयमा एकै बिषयका आवश्यकता भन्दा बढी शिक्षक भएमा,दरबन्दी मिलानमा क्रममा तोकिएको मापदण्ड भन्दा बढी शिक्षक भएमा,बिपद्का कारण बिद्यालय र बिद्यालय रहेको समुदायनै अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थामा गाउँ बिपद् व्यवस्थापन समितिले सिफारिस गरेमा र कुनैपनि शिक्षकले उत्कृष्ट नतिजा ल्याउन सफल रहेको वा बिशेषज्ञ सेवा प्रवाह गरेको अवस्थामा उक्त सेवालाई अन्य बिद्यालयमा उपयोग गर्न आवश्यक देखिएमा समेत शिक्षकको सरुवा गर्न सकिने व्यवस्था गरिएको छ ।

गाउँ शिक्षा नियमावलीले पालिका भित्र दम्पति नै शिक्षकको रुपमा कार्यरत रहेको अवस्थामा भरसक उनीहरुलाई एकै बिद्यालय वा वडाभित्र पर्नेगरी सरुवाको प्रकृया अघि बढाउन समेत कानुनी आधार दिएको छ । शिक्षक सरुवामा फरक क्षमता भएका,महिला शिक्षक र लामो अवधि एकै बिद्यालयमा बसेका शिक्षकलाई प्राथमिकता दिईने प्रवन्ध गरिएको छ ।‘बिद्यालय सुधारका लागि कार्यरत शिक्षकलाई बढीमा ५ बर्ष भित्र पालिका भित्रका एक बिद्यालयबाट अर्को बिद्यालयमा सरुवा गर्नेगरी कानुनी प्रवन्ध गर्ने योजना बनाईरहेका छौं’पालिका अध्यक्ष पोमूले भन्नुभयो ।
प्रधानाध्यापक बढीमा ३ बर्षका लागि,आवधिक कार्य सम्पादन सम्झौता हुने
गाउँ शिक्षा नियमावली अनुसार संघीय शिक्षा ऐन तथा सो ऐन अन्र्तगत बनेको नियमावली बमोजिमको योग्यता पूराभई सम्वन्धित बिद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँपालिकाको निर्णय बमोजिम पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बढीमा तीन बर्षका लागि बिद्यालयको प्रधानाध्यापक नियुक्त गर्न सक्ने छन् ।

गाउँ शिक्षा नियमावली अनुसार आधारभूत तह (कक्षा ३ वा ५ सम्म)को बिद्यालय भए कम्तिमा १२ कक्षा वा सोसरह उर्तीण गरेको,आधारभूत तहको अन्य बिद्यालय भए स्नातक वा सोसरह उर्तीण गरेको र माध्यमिक तहको बिद्यालय भए कम्तिमा स्नातकोत्तर वा सोसरह उर्तीण गरी बिद्यालयमा कम्तिमा ५ बर्ष स्थायी शिक्षकको रुपमा शिक्षण अनुभव भएको व्यक्ति मात्र प्रधानाध्यापकको प्रतिश्पर्धी हुन सक्नेछन् । एउटै सामुदायिक बिद्यालयमा एउटै व्यक्ति लगातार दुई कार्यकाल भन्दा बढी प्रधानाध्यापक बन्न गाउँ शिक्षा नियमावलीले बन्देज गरेको छ ।

पालिका भित्रका बिद्यालयका प्रधानाध्यापकसंग गाउँपालिकाले त्रिबर्षिय कार्य सम्पादन सम्झौता गर्ने भएको छ । १०० पूर्णाङ्कलाई आधार मानी प्रधानाध्यापकसंग निश्चित सूचकका आधारमा कार्य सम्पादन सम्झौता गरिने र ९० अंक भन्दा कम अंक ल्याए शिक्षा शाखाका प्रमुखको सिफारिसका आधारमा निज प्रधानाध्यापकलाई उक्त पदबाट हटाई योग्यता पुगेका अर्को बरिष्ठतम् शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न सक्ने व्यवस्था गाउँ शिक्षा नियमावलीले गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts