दाउराको खपत घटाउन ताप्लेजुङको मिक्वाखोला वडा नं २ मा बिद्युतीय चुल्हो बितरण सुरु,४ सय थान बितरण गरिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । दाउराको खपत घटाउन र उपभोक्ताको भान्छा केहि सस्तो बनाउन ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको वडा नं २ खोक्लिङका घरधुरीमा बिद्युतीय चुल्हो बितरण गर्न थालिएको छ ।

४ सय थान बिद्युतीय चुल्हो बितरण गर्ने कार्य सुरु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । थापाका अनुसार आइतवार साविक वडा नं ७ मा का घरधुरीलाई बिद्युतीय चुल्हो बितरण गरिएको छ भने सोमवार साविक वडा नं ८ का घरधुरीलाई बितरण गरिने छ । पालिका अध्यक्ष भक्तबहादुर कार्की,मिक्वाखोला वडा नं २ का वडाध्यक्ष झरेन्द्र थापा सहित वडाका अन्य जनप्रतिनिधिको उपस्थितिमा बिद्युतीय चुल्हो बितरण गरिएको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्युतीय चुल्हो बितरण सम्वन्धमा गाउँपालिका र वडापालिकाको साभेदारी बजेट २७ लाख रुपैयाँ रहेको थियो ।

२०७६ साल माघ ११ गते ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले एलपी ग्याँस, विद्युतीय चुल्हो र मट्टीतेलबाट खाना पकाउँदा लाग्ने खर्चबारे एक अध्ययन गरेको थियो । खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालकै पहिलो दाबी गरिएको उक्त अध्ययनअनुसार ग्याँसको तुलनामा विद्युतीय ऊर्जा प्रयोग गरेर खाना पकाउँदा ६० प्रतिशतले सस्तो हुन जाने देखिएको थियो ।

अध्ययन केन्द्रको अनुसन्धान अनुसार ग्राहकको रोजाइको विद्युतीय खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विद्युतीय हट प्लेटलगायत पर्दछन् । तर ती सामग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै हुने अध्ययन केन्द्रको भनाइ छ । अध्ययन टोलीका अनुसार ग्राहकको रोजाइको विद्युतीय सामग्रीबाट खाना बनाउँदा पाँच जनाको परिवारमा मट्टीतेलमा भन्दा १ सय २६ रुपैयाँ र एलपीजीको तुलनामा ३ सय ६४ रुपैयाँ उपभोक्तालाई सस्तो पर्ने अध्ययनमा देखिएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts