तावाखोलामा बन्यो मोटरेबल पुल,सिदिङ्वा र सिरिजङ्गाबीच अब बाह्रैकाल सवारी यातायात सञ्चालन गर्न सकिने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोलामा मोटरेवल पुल निर्माण भएपछि अब दुई गाउँपालिकाबीच सहज आवतजावत हुने भएको छ ।

पुल नहुँदा बर्खायाममा सवारी आवतजावत गर्न कठिनाई थियो ।‘हिउँद याममा खोलाको पानी कम हुँदाबाहेक खोलामा पानीको बहाव बढेको समयमा सवारीबाट आवतजावत सम्भव थिएन’पुल बनेर सवारी आवागमन सुरुभएपछि प्रसन्नता व्यक्त गर्दै सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलले अब त्यो कठिनाई विगत भएको स्मरण सुनाउनुभयो । उहाँका अनुसार स्थानीय जलबिद्युत परियोजनाले खोलामा होमपाइप लगाएर सवारी आवागमन सुरु गर्ने प्रयास गरेको थियो । जलबिद्युत परियोजनाले १२ वटा होमपाईपमार्फत सवारी आवागमन गराउने गरी प्रयास गरेकोभएपनि गतबर्षको बर्खायाममा २ वटा बाहेक सबै बगाईदिएपछि सवारी आवागमनको कठिनाई कायम थियो । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पुल बनेपछि दुईपालिकाबीच सवारी आवागमनको असहजता अन्त्य भएको बताउनुभयो ।‘यसलाई एउटा समृद्धिको ठोस अभियान पूरा भएको रुपमा बुझ्नुपर्छ’चौहानले भन्नुभयो ।

तावाखोला पुल निर्माणको अग्रसरता लिएर शिलान्यास समेत गरेका गाउँपालिकाका पूर्व अध्यक्ष टीकाराम गुरुङ पुल निर्माणले विगतमा भोगेको कठिनाई अन्त्य गराएकोमा खुसी हुनुहुन्छ । भन्नुहुन्छ‘सपना झैं लाग्ने यो कार्य पूरा भएपछि सिरिजङ्गा र सिदिङ्वाबीचको सवारी यातायात अब बाह्रैकालका लागि स्थायी हुने छ’ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्र मावो दुई पालिका आवतजावतमा सवारी यातायातमा देखिने अवरोध पुल निर्माणसंगै हटेको दावी गर्नुहुन्छ । ३२.२ मिटर लम्बाई र फुटपाथ सहित ८.४ मिटर चौडाईको पुल निर्माणका लागि सुनसरी ईटहरीस्थित अञ्जना÷हिमतारा जेभी कन्ट्रक्सनले २०७८ साल भदौ ४ गते सिरिजङ्गा गाउँपालिकासंग सम्झौता गरेको थियो । आउँदो भदौ ३ गते सम्म निर्माण अवधि भएपनि निर्माण व्यवसायीले समझौता अवधि भन्दा अघिनै पुल निर्माण कार्य पूरा गरेका छन् ।

गुरुङ अध्यक्षमा बहाल रहँदाको गाउँपालिकाको पदाधिकार टीम र चौहान अध्यक्ष रहेको गाउँपालिकाको बर्तमान पदाधिकार टीमले निर्धारित समय अगावै पुल निर्माण कायै पूरा गराउन निर्माण व्यवसायलाई निरन्तर घच्घच्याएका थिए । गाउँपालिका प्रशासनले पालिकाका ईञ्जिनियर र प्राविधिकलाई कामको प्रगतिको नियमित प्रगति बिबरण दिन र कामको तीव्रताका लागि सम्वन्धित निर्माण व्यवसायीलाई अवगत गराईराख्न दबाब दिएको थियो । त्यहिँ प्रयास स्वरुप काम सक्नुपर्ने सम्झौता समय अगावै निर्माण कार्य पूरा भएको छ । भ्याट तथा पि.एस सहित कूल ५ करोड ९१ लाख ६ हजार ९ सय ३७ रुपैयाँ लागत अनुमान रहेको पुल निर्माणका लागि अञ्जना÷हिमतारा जेभी कन्ट्रक्सनले भ्याट तथा पि.एस सहित ४ करोड १० लाख ८ हजार ५ सय ९ रुपैयाँमा कवोल गरेको थियो । निर्माण व्यवसायीको कवोल अनुसार सम्झौता भएपछि गाउँपालिकाका तत्कालिन अध्यक्ष गुरुङले २०७८ साल असोज २१ गते पुल निर्माणको शिलान्यास गर्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts