‘सुरक्षित मातृत्व कायम गराउन पैरवी र जागरण आवश्यक’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ४ । गर्भावस्थामा नियमित परीक्षण,पोषिलो खाना र सुत्केरी समयमा गुणस्तरीय सेवा उपलब्ध भएमा मात्र सुरक्षित मातृत्व सम्भव हुने भएकोले यसको पैरवीका लागि सरोकारवालाले सञ्चारसंस्थासंग सहयोग मागेका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र काठमाडौंको सहयोगमा बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर सप्तरीले बिहीबार आयोजित कार्यक्रममार्फत सुरक्षित मातृत्व अभियानमा सञ्चार संस्था र सञ्चारकर्मीको सहयोग मागेको हो । ‘पैरवीका माध्यमबाट सुरक्षित मातृत्व कायम गर्न सकिन्छ भन्ने निश्कर्षका साथ हामीले सञ्चारकर्मी र सञ्चार संस्थाहरुलाई सुरक्षित मातृत्व सम्वन्धी सन्देश प्रवाह र थप जागरणका लागि आग्रह गरेका हौं’ एजुकेशन सेन्टर सप्तरीका सञ्चालक लक्ष्मीनारायण देवले भन्नुभयो । उहाँले सुरक्षित मातृत्व कायम गर्न गराउन अहिले पनि पैरवीको जरुरी रहेको र त्यो कार्य सञ्चारकर्मी र सञ्चारसंस्थाहरुमार्फत सम्भव हुने आफ्नो निश्कर्ष रहेको सुनाउनुभयो । सेन्टरले स्वास्थ्य कार्यालय ताप्लेजुङको समन्वयमा सुरक्षित मातृत्व बारे सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजिपी डाक्टर महेश्वर गोसाँईले सुरक्षित मातृत्वका लागि अझैपनि जागरण र चेतना प्रवाहको आवश्यकता रहेको औंल्याउनुभयो । गर्भावस्थामा नियमित परीक्षण,पोषिलो खाना,स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसंगको नियमित परार्मश तथा सुत्केरी समयमा गुणस्तरीय सेवा सहित आमा र बच्चाको उचित स्याहार सहितका कार्यले सुरक्षित मातृत्व कायम गर्न सकिने डाक्टर गोसाँईले बताउनुभयो । यस्तै स्वास्थ्य संस्थामा समयमै गएर गरिने संस्थागत सुत्केरी र सो समयमा शीघ्र रुपमा स्वास्थ्य संस्थामा पुग्ने प्रकृयाले पनि सुरक्षित मातृत्वका लागि योगदान पुग्ने उहाँको भनाई रहेको छ ।‘सुत्केरी समय भन्दा ढिला गरी स्वास्थ्य संस्थामा आउने वा घरमै सुत्केरी गराउने प्रकृयाले समेत सुरक्षित मातृत्व प्रकृयामा जोखिम सृजना गरिरहेको छ’उहाँले भन्नुभयो ।

महिलाले आफ्नो इच्छा अनुसार गर्भवती हुने वा नहुने वा कहिले हुने,गर्भवती अवस्थामा कसरी स्वस्थ्य रहने,तनाव र संक्रमण रहित तरिकाले दक्ष प्रसुतिकर्मी तथा प्रसुति गराई स्वस्थ्य शिशु जन्माउनुको साथै सुत्केरी अवस्थामा आमा र बच्चाको उचित स्याहार पुगेमा सुरक्षित मातृत्व कायम हुने ठानिएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्बेक्षण सन् २०१६ का अनुसार नेपालमा २१ प्रतिशत महिलाले एउटा बच्चा पाईसकेपछि २४ महिना अगावै पुनःअर्को गर्भधारण गर्ने गरेको पाईएको छ । २० प्रतिशतले भने ६० महिना पछि गर्भधारण गर्ने गरेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि यि दुबै घातक हुने ताप्लेजुङ जिल्ला अस्पतालका एमडिजिपी डाक्टर गोसाँईले बताउनुभयो ।‘छिटो समयको गर्भधारण र लामो एउटा बच्चा जन्मिएपछि लामो अवधिमा हुने अर्को गर्भधारण यि दुबै हानिकारक हुन्छन्’गोसाँईले भन्नुभयो । उहाँले एउटा बच्चा जन्मिएको ६ महिना अवधि नै पूरा नभई अर्को गर्भधारण भएका तथ्याङ्कहरु समेत पाएको बताउँदै जन्मान्तर बारे दम्पत्तिले बिशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।

सुआहारा कार्यक्रमका जगदीस दासले सुरक्षित मातृत्वका सैद्धान्तिक पक्षलाई प्रत्येक घरपरिवारले व्यवहारिक रुपले पालना गरेमा मात्र सुरक्षित मातृत्व कायम हुने बताउनुभयो । निमित्त स्वास्थ्य प्रमुख उदयनारायण दुलालले सबैको सहकार्य,पैरवी र जागरण अभियानमार्फत सुरक्षित मातृत्व कायम गराउन योगदान पुग्ने भन्दै यसका लागि सञ्चारकर्मी र सञ्चारसंस्थाहरुको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो । यहाँका क्रियाशिल २० जना सञ्चारकर्मीलाई अभिमुखीकरण गराइएको आयोजक संस्थाले जनाएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts