इण्डोर जुत्ता बनाउने ७ दिने तालिम सकियो
ताप्लेजुङ,जेठ १ । खाँडी,अल्लो र राडीलाई कच्चा पदार्थ बनाएर घरायसी प्रयोजन,पूजाआजा र अन्य संस्कारका कार्यमा प्रयोग गरिने जुत्ता बनाउने तालिम फुङलिङमा सोमवार सकिएको छ ।
तालिम अघिल्लो साता सोमवारबाट सुरु भएको थियो । फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति ताप्लेजुङले आयोजना गरेको तालिम समापन समारोहमा बोल्दै फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले सीपको उपयोगितामार्फत आत्मनिर्भर बन्न सहभागीलाई सुझाव दिनुभयो ।
उद्यमी शान्ति मादेनले तालिम लिने तर यसको उपयोगितामा ध्यान नदिने प्रवृतिको अन्त्य जरुरी भएको बताउँदै सीपको उपयोग गरेर उद्यमी बन्नु नै परनिर्भरता हट्नुको संकेतको रुपमा लिन सकिने बताउनुभयो । तालिमका प्रशिक्षक मिलन नेपालीले छोटो अवधिमै पनि सहभागीले लगाएको मेहनेत उच्च तहको रहेकोले त्यो मेहनेतलाई कायम राख्ने हो भने उद्यम सृजनामा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनुभयो ।
कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल,नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारती,सचिव हर्कराज गुरुङ,भेडा तथा बाख्रा पालन व्यवसायी संघका जिल्ला अध्यक्ष कलम बिष्ट,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,प्रदेश महिला उद्यम समिति सदस्य सरस्वता कार्की,घरेलु महासंघका पूर्व जिल्ला अध्यक्ष कुमार सिवा सहितको उपस्थिति रहेको थियो ।
आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति ताप्लेजुङका अध्यक्ष बिष्णु श्रेष्ठका अनुसार जुत्तालाई पुजा सहितका अन्य संस्कारमा समेत प्रयोग गर्न सकिने तवरले बनाइएको छ । आयोजक संस्थाले तालिमका क्रममा उत्पादन भएका केहि थान जुत्ता पाथीभरा मन्दिर क्षेत्रमा प्रयोग हुने गरी मन्दिरका पुजारी टीकाराम पौडेललाई हस्तान्तरण गरेको समेत जनाएको छ ।