| | |

पाथीभराको भेटी सात करोड दश लाख रुपैयाँ

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २९ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड दश लाख रुपियाँ बढी भेटी रकम संकलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको साथै विभिन्न दाताले उपलब्ध गराएको सहयोग समेतबाट हालसम्म उक्त रकम संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत बैशाख १ गते सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी रकम संकलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ भेटी रकम सङ्कलन भएको थियो । चालू आर्थिक वर्षको बैशाख १ गते सम्ममा मात्र दुई करोड सात लाख १९ हजार ३०८ रुपियाँ रकम संकलन भएको छ ।
समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालू आवमा संकलन भएको भेटीअन्तर्गत पाथीभरामा भक्तजनले चढाएको रकमबाट एक करोड ५६ लाख ९७ हजार २४० रुपियाँ रहेको छ । यस्तै विभिन्न दाताको सहयोगबाट ११ लाख ३१ हजार ६७७ रुपियाँ, सिक्का सटहीबाट सात लाख ५० हजार ६०० रुपियाँ र भारतीय रुपियाँ (भारु) सहटीबाट सात लाख दुई हजार ३०० रुपियाँ रकम संकलन भएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार बैंकमा मौज्दात (बचत) रहेको रकमको ब्याजबाट चालू आवभित्र बैशाख १ गते सम्ममा २४ लाख ३७ हजार ४९१ रुपियाँ संकलन अर्थात आम्दानी भएको छ । यता भेटी रकम सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँमध्येबाट चैत मसान्त सम्ममा ४८ लाख आठ हजार ९८५ रुपियाँ खर्च (व्यय) भएको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो । कर्मचारी तलबभत्ता, सुरक्षाकर्मी परिचालन, भेटी रकम सिक्का र भक्तजनले चढाएका अन्य धातुजन्य सामग्री व्यवस्थापन तथा ढुवानीमा खर्च भएको समितिले जनाएको छ ।
समितिकाअनुसार पाथीभराका तीनजना पुजारीसमेत करार सेवामा १६ जना कर्मचारी कार्यरत रहेका छन् । कार्यकारी निर्देशकबाहेक सबै कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब सुविधा प्रदान गर्ने गरिएको छ । आन्तरिक स्रोतबाट हुने तलवभत्तामा मात्र मासिक चार लाख ११ हजार ६३० रुपियाँ खर्च हुने गरेको समितिका कर्मचारी नवीन निरौलाले जानकारी दिनुभयो ।
पाथीभरामा भक्तजनको आगमन जति बढी हुन्छ, सोहीअनुसार आम्दानी अर्थात भेटी संकलनमा पनि वृद्धि हुने गरेको समितिले जनाएको छ । यसवर्ष तीर्थयात्रीको उपस्थिति बढ्न थालेकाले भेटी संकलनमा पनि वृद्धि हुनसक्ने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे बताउनुहुन्छ । यसअघि दुई वर्षसम्म कोभिड–१९ का कारण तीर्थयात्रीको आगमन ठप्प भएपछि भेटी संकलनमा असर पुगेको र अब भने भक्तजनको उपस्थितिसँगै भेटी रकम थप वृद्धि हुने अपेक्षा राखिएको अध्यक्ष थेबेले बताउनुभयो ।

Similar Posts