खाँडी,अल्लो र राडीको प्रयोग गरेर जुत्ता बनाउने तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २५ । खाँडी,अल्लो र राडीलाई कच्चा पदार्थ बनाएर घरायसी प्रयोजन,पूजाआजा र अन्य संस्कारका कार्यमा प्रयोग गरिने जुत्ता बनाउने तालिम फुङलिङमा सोमवारबाट सुरु भएको छ ।

फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति ताप्लेजुङले तालिमको आयोजना गरेको छ । तालिमको सुभारम्भ गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले यो प्रकृतिको तालिम जिल्लामै पहिलोपटक सञ्चालन भएको बताउनुभयो । उत्पादनलाई सुलभ र गुणस्तरीय बनाउनुपर्ने उहाँको सुझाव छ ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले तालिमलाई सीप हासिल गर्ने समयको रुपमा मात्र उपयोग गर्न नभई सीपको उपयोगितामार्फत आत्मनिर्भर बन्ने बाटोको रुपमा प्रयोग गर्न समेत सहभागीलाई सल्लाह दिनुभयो । घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले बजारीकरणको समस्या हल गर्न आफ्नो निकायले अधिकतम् पहल गर्ने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महांघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले सीप सिक्नु अवसर भएको र अवसरको उपयोगितामार्फत व्यवसायिक र आत्मनिर्भर हुनु त्यो भन्दा महत्वको हुने बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका महासचिव हर्कराज गुरुङका अनुसार तालिममा १२ जनाको सहभागिता रहने छ ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति ताप्लेजुङका अध्यक्ष बिष्णु श्रेष्ठका अनुसार जुत्तालाई पानीको हानीबाट बचाउन पुजा सहितका अन्य संस्कारमा समेत प्रयोग गर्न सकिने मेट्रेस समेतको प्रयोग गरिने छ । हप्तादिन सम्म चल्ने तालिमको सहजीकरण मिलन नेपालीले गर्ने हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts