ताप्लेजुङको देउरालीमा बन्यो बहुआयामिक हाब्रे संरक्षण केन्द्र
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । रेडपाण्डाको बासस्थान जोगाउन,जंगलमा दबाब कम गर्न र समुदायस्तरमा रेडपाण्डाको संरक्षण र दिगोपनाको ‘शैक्षिक हब’बनाउने उद्देश्य सहित ताप्लेजुङको देउरालीमा हाब्रे संरक्षण केन्द्र स्थापना भएको छ ।
दुलर्भ वन्यजन्तु रेडपाण्डालाई स्थानीयले हाब्रे वा पुँडेकुदो भनेर पनि चिन्ने गर्छन् । रेडपाण्डा नेटवर्कका संरक्षण कार्यक्रम प्रवन्धक सोनाम टाँसी लामाका अनुसार केन्द्रमार्फत कम्तिमा दुई हजार स्थानीय परिवारको सुधारिएको जीवनस्तर र बार्षिक आय बृद्धि गर्ने लक्ष्य राखिएको छ । पाथीभरा मन्दिर जाने मार्ग देउराली क्षेत्रमा स्थापित यो केन्द्र आरामदायक पर्यटकीय अनुभव गर्ने र बिद्यार्थीलाई हाब्रेको संरक्षण र दिगोपना बारे जानकारी दिने शैक्षिक हबको रुपमा उदय भएको नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले बताउनुभयो ।
पाथीभरा दुर्लभ वन्यजन्तु रेडपाण्डाको उल्लेख्य उपस्थिति रहने क्षेत्रको रुपमा परिचित रहेको छ । यहिँ मार्गमा यो केन्द्र स्थापना भएको छ । यो केन्द्र वरपरको जंगल रेडपाण्डा सहितका अन्य वन्यजन्तु तथा चराचुरुङ्गीहरुको उपयुक्त बासस्थान भएको र वन्यजीवहरुका बारेमा अध्ययनकर्ताहरुका लागि यो केन्द्र प्राकृतिक आश्रयस्थल बन्ने रेडपाण्डा नेटवर्कले बिश्वास लिएको छ । त्यो केन्द्रमार्फत विश्वको तेस्रो शिखर कञ्चनजंघा र प्रसिद्ध तीर्थस्थल पाथीभरा सहितका स्थलहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । शैक्षिक,अवलोकन र अध्ययन र संरक्षणका कार्य सञ्चालन तथा व्यवस्थापनका लागि यो केन्द्र प्रभावकारी हुने नेटवर्कका कार्यकारी निर्देशक शेर्पाको विश्वास रहेको छ । उहाँका अनुसार स्थानीय समुदायले केन्द्रमार्फत दिगो उर्जाको प्रयोग र निर्माण,जैविक खेति,हस्तकला सहितका सीपहरुको परिप्रयोग,पशुपालन,बायो ब्रिकेट उत्पादन,प्राकृतिक गाईड,बर्षाको पानी संकलन र प्रशोधन,नर्सरी व्यवस्थापन र होमस्टे सञ्चालन सहितका सुबिधा उपयोग गर्न सकिने छ । वातावरण र अर्थतन्त्र एकअर्काबीच परनिर्भर रहेको र वातावरणको संरक्षण तथा दिगोपनामार्फत स्थानीय समुदायको आर्थिक अवस्थामा सुधार ल्याई परनिर्भरता हटाउन केन्द्र लाभदायी हुने रेडपाण्डा नेटवर्कको दावी छ ।
उच्च उचाईमा निर्माण हुने पूर्वाधारको दिगोपनालाई आधार बनाएर स्थानीय स्रोतबाट प्राप्त सामाग्रीको प्रयोग र दिगो तथा हरित निर्माण सामाग्री तथा प्रविधिको प्रयोग गरी यो केन्द्र निर्माण भएको रेडपाण्डा नेटवर्कले जनाएको छ । सस्टेनेबेल माउन्ेटन आर्किटेक(एसएमए)ले हाब्रे केन्द्रको डिजाइन र निर्माणको नेतृत्व गरेको थियो । भूकम्प प्रतिरोधी यो केन्द्रमा बर्षाको पानी संकलन गरी उपयोग गर्ने प्रविधि,सुधारिएको खाना पकाउने चुल्हो,सौर्य प्रविधि,दिगो फोहोर व्यवस्थापन,अर्गानिक तरकारी खेति प्रणाली,गैह्र काष्ठ वन पैदावार,औषधिय सुगन्धित बिरुवाको उत्पादन समेतको शैक्षिक प्रर्दशनी तथा जानकारी लिने सुबिधा रहेको छ ।
नोर्डन आर्क र स्भेन्स्का पोस्टकोडोल्ट्रिटको सहयोगमा यो केन्द्रको निर्माण समभव भएको रेडपाण्डा नेटवर्कले जनाएको छ । यो केन्द्रको सञ्चालन तथा व्यवस्थापनको जिम्मा देराउली भित्री सामुदायिक वन उपभोक्ता समूहले पाएको छ । समूहका अध्यक्ष निमाक्रिक्या शेर्पाले यो केन्द्र निर्माणले असंख्य लाभ दिने भन्दै केन्द्रको सहज सञ्चालनका लागि आफुहरु कटिबद्ध भएर लाग्ने बताउनुभयो । नवनिर्मित केन्द्रको फुङलिङ नगरप्रमुख अमिर मादेनले उद्घाटन गर्नु भएको छ ।