| | |

फुङ्लिङ बजारभित्र मेची राजमार्ग सडक नापजाँच सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३० । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र सडक नापजाँच (सिमाङ्कन) गर्न सुरु गरिएको छ । मेची राजमार्गअन्तर्गत पर्ने फुङ्लिङ बजारभित्रको सडक नापचाँजको कार्य सुरु गरिएको हो ।
मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन गएको आइतबार सात दिनको अन्तिम म्याद दिएको फुङ्लिङ नगरपालिकाले बुधबारदेखि सडक नापजाँच गर्न सुरु गरेको हो । सडकको दाँया–बाँया साढे सात–साढे सात मिटर कायम रहनेगरी नापजाँच कार्य सुरु गरेको नगरपालिकाले जनाएको छ ।
सडक डिभिजन कार्यालय इलाममार्फत मेची राजमार्ग विस्तारको कार्य अघि बढाउने योजनाअनुसार सडक नापजाँच र सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन सुरु गरिएको हो । सोही योजना कार्यान्वयनस्वरुप फुङ्लिङ नगरपालिकाले बजारको हेलिप्याड क्षेत्रबाट सडक नापजाँच सुरु गरेको छ । सडक नापजाँच गर्दै सडक क्षेत्राधिकारभित्र निर्माण भएका घर–टहरा लगायतका संरचना हटाउन सम्बन्धित पक्षलाई नगरपालिकाले आग्रहसमेत गरेको छ ।
फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रमा मेची राजमार्ग सडक सीमाभित्रको संरचना हटाउनलाई २०८० साल बैशाख २ गते सम्मको म्याद दिएको छ । सडकको दायाँ–बायाँ साढे सात–साढे सात मिटर कायम रहनेगरी संरचना हटाउनलाई अन्तिम पटक म्याद दिएको नगरपालिकाले उल्लेख छ । तोकिएको समयभित्र संरचना आफैं हटाउन र नहटाए सडक ऐनको व्यवस्थाअनुसार प्रक्रिया अघि बढ्नेसमेत सचेत गराइएको छ ।
सडक डिभिजन कार्यालयले मेची राजमार्गको सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनलाई पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गर्दा दाँया–बाँया २१–२१ मिटर हुनेगरी उल्लेख गरिएको थियो । सडक डिभिजनले सडक क्षेत्राधिकारभित्रको संरचना व्यवस्थापनका लागि सीमा क्षेत्रमा पर्ने स्थानीय तहकोसमेत सहयोग मागेको थियो ।
सडकले मागेको सहयोगअनुसार फुङ्लिङ नगरपालिकाले पहिलो पटकको म्याद सकिएपछि गत फागुन १४ गते दोस्रो पटक सूचना जारी गर्दै १५ दिने म्याद दिएको थियो । त्यसपछि गएको चैत १ गते तेस्रो पटक सात दिने म्याद दिएर संरचनाहरु हटाउनलाई सूचना जारी गरेको नगरपालिकाले अन्तिम पटकभन्दै पुनः सात दिने सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाले जारी गरेको अन्तिम पटकको सूचनामा भने दाँया–बाँया साढे सात–साढे सात मिटर गरी कुल १५ मिटर सडक क्षेत्रभित्र संरचनाहरु हटाउन अनुरोध गरेको छ । पटक पटक सूचना प्रकाशित हुन थालेपछि केहीले सडक मापदण्डभित्र निर्माण भएका संरचना आफैँ हटाउन थालेका छन् । यता अधिकांसले भने सूचनाको बेवास्ता गरी संरचनाहरु हटाउनलाई अझै पनि अटेर गरिरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts