औद्योगिक महोत्सवको रौनक ः उद्यमी घरीघरी नाच्छन्,घरीघरी सरकार गुहार्छन्

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २४ । औद्योगिक मेलामा घरेलु उत्पादन लिएर इलामबाट ताप्लेजुङ आईपुग्नु भएकी उद्यमी देवी लिम्बूलाई थकान मेटाउने रहर जाग्यो । महोत्सव चलिरहेका बेला खाली मञ्चको सदुपयोग गर्न घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइले आग्रह गर्नुभयो । उद्यमीहरु एकसाथ मञ्चमा आए र नाच्नगाउन थाले । महोत्सव संगितमय भयो । झापाबाट आउनु भएकी उद्यमी गीता शाक्य र पाँचथरबाट आउनु भएकी जुनु लावती सहितका उद्यमी पनि त्यहिँ संगितको भीडमा हुनुहुन्थ्यो । नाँच्ने र गाउने मात्र होईन,आफ्नो उद्यम अनुभव समेत प्रष्ट्याउन पाएका उद्यमीहरु उद्यम सुरुवातको विगत सम्झिएर केहिछिन भकानिए । केहिछिन संगितमा रमे । इलामकी उद्यमी देवीले आफ्नो उद्यमको सुरुवात कठिन र संघर्षमय भएको बताउनुभयो । उहाँ ५० जनालाई प्रत्यक्ष रोजगारी दिने उद्यमीमा पर्नुहुन्छ । तर उहाँलाई राज्यले घरेलु उद्यमीलाई हेर्ने दृष्टीकोण पटक्कै मन परेको छैन । भन्नुभयो‘राज्यले घरेलु उद्यमलाई प्रोत्साहित गर्ने मात्रै हो भने पनि आत्मनिर्भरताका बिदेश जानै पर्दैन’ । बजारको अभाव र प्रविधिको सहयोगमा राज्य उदासिन भएको उहाँको आरोप थियो । झापाकी उद्यमी शाक्यको हस्तकला सम्वन्धीका सामग्री उत्पादन गर्ने केन्द्रमा ४ जना प्रत्यक्ष रोजगार छन् । उहाँले स्थानीय उत्पादनको उपयोग बढाउन निकै मेहनेत लगाउनुपर्ने बताउनुभयो ।’यो काम तीनै तहका सरकारको भएको उहाँको भनाई थियो । पाँचथरकी उद्यमी लावती साना तथा घरेलु उद्यमी र किसानको पींडाप्रति राज्य गम्भिर बन्न नसकेको गुनासो गर्नुहुन्छ । समृद्धिका लागि घरेलु उद्यममार्फत उद्यमीका समस्या पहिचान गरी लगानीका क्षेत्र बढाउन र बजार तथा भण्डारणमा सहयोग गर्न सक्यो भने उद्यमीप्रतिको सम्मान हुने उहाँले बताउनुभयो । फुङलिङमा कञ्चनजंघा हस्तकला उद्योगमार्फत घरेलु उद्यममा आवद्ध शान्ति मादेन औद्योगिक महोत्सवका बेला मात्र नभएर अरुबेलै पनि सरकार र सरकारी निकायले लघु उद्यमीहरुको आवश्यकता पहिचान गर्न सक्नुपर्ने बताउनुहुन्छ । उद्यमीहरुलाई प्रोत्साहन र प्रेरणाको खाँचो रहेको उहाँको अनुभव छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार महोत्सवका ५० वटा स्टल रहेका छन् । घरेलु तथा साना उद्योग महासंघ महिला समिति ताप्लेजुङका संयोजक बिष्णु श्रेष्ठ उद्यमीलाई गरिने प्रोत्साहन र प्रेरणाले उद्यम विकासमा टेवा पुग्ने बताउनुहुन्छ । महोत्सव सिमित अवधिको उद्यमी प्रोत्साहन कार्यक्रम भएकोले त्यस बाहेक उद्यमीहरुलाई उद्यम सृजना र बजारीकरणका लागि नियमित रुपमा रेखदेख गरिनुपर्ने उहाँको बुझाई छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य मातृकादेवी प्रसाँई उद्यम स्थापना ठूलो कुरो नभएपनि यसको निरन्तरता र व्यवसायिकताका लागि सरकारले सूचकहरु तयार गर्नुपर्ने बताउनुहुन्छ । स्थानीय उत्पादन र प्रयोगलाई बढावा नदिए सम्म उद्यम विकास सम्भव नहुने प्रसाँईले बताउनुभयो । आफ्ना उत्पादनको प्रवद्र्धनका लागि औद्योगिक महोत्सव नै पर्खनुपने प्रवृतिको अन्त्यका लागि सम्वन्धित निकायले न्यूनतम् आधारहरु तयार गर्नुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts