जन्मगाउँ ताप्लेजुङको फक्तालुङ गाउँपालिका पुगेर डाक्टर रुईतले गरे ७० जनाको आँखाको शल्यकृया

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
(तापेथोक)ताप्लेजुङ,फागुन २१ । बिश्व बिख्यात बरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुईत नेतृत्वको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले आफ्नो जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७० जनाको आँखा शल्यकृया गरेको छ ।
शनिवार ४८ र आइतवार २२ जना गरी कूल ७० जनाको मोतियाबिन्दुको शल्यकृया गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति(राजन)लावुङ लिम्बूले जानकारी दिनुभयो । फागुन ८ गते देखि फक्ताङलुङ गाउँपालिकाका बिभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरुले २ हजार जनाको आँखाको जाँच गरी मोतियाबिन्दुको शल्यकृया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो । छनौट भएका बिरामीको गाउँपालिकाको केन्द्र तापेथोकमा आएर रुईत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले शनिवार र आईतवार आँखाको शल्यकृया गरेको थियो । तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस्तो शिविरमा शल्यकृया गर्नुपर्ने प्रकृतिका बिरामीलाई शल्यकृया स्थल सम्म ल्याउने यातायात सुबिधा देखि बस्ने र खाने व्यवस्था समेत गाउँपालिका आफैंले गरेको गाउँपालिकाले जनाएको छ । अन्य उपचार प्रवन्ध तिलगंगा आँखा प्रतिष्ठानले गरेको थियो । दुर्गम र पछि परेको आफ्नो जन्मक्षेत्रमा आएर आफु नेतृत्वको टोलीले स्थानीयलाई सेवा दिन पाउँदा वर्ग महशुष गरेको डाक्टर रुईतले बताउनुभयो । उहाँको जन्म गाउँ फक्तालुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला हो । शिविर सकेपछि उहाँ आफ्नो जन्म गाउँ ओलाङचुङगोलातर्फ लाग्नु भएको छ ।
फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ शेर्पाले जन्म गाउँमा पुगेर रुईतले स्थानीय बासिन्दासंग साक्षात्कार गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँ सोमवार ओलाङचुङगोला पुग्ने रुईतका सञ्चार सम्पर्क अधिकृत पंकज थापाले जानकारी दिनुभयो । डाक्टर डाक्टर रुईत तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक समेत हुनुहुन्छ । दुनियाँले‘दृश्यका देवता’भनेर चिन्ने डाक्टर रुईतसंग नेपाल सहित बिश्वका बिभिन्न देशमा पुगेर आफ्नै हातले १ लाख ८० हजार भन्दा बढी आँखा रोगीको शल्यकृया तथा उपचार गरेको अनुभव छ । मानवीय सेवामा उच्चतम् सहयोग पु¥याउने एकजनालाई बहराईन सरकारले हरेक दुई–दुईमा बर्ष प्रदान गर्ने १० लाख अमेरिकी डलर राशीको प्रतिष्ठित ईसा अवार्डबाट यसबर्ष बिभूषित डाक्टर रुईट आँखा रोगीहरुका लागि ‘बरदान’को रुपमा परिचित हुनुहुन्छ । उहँले यसअघि सन् २००६ मा एशियाको नोबेल पुरस्कार भनेर चिनिने रमन सेसे पुरस्कार समेत पाइसक्नु भएको छ । भारतले प्रदान गर्ने प्रतिष्ठित पद्मश्री पुरस्कार र नेपाल सरकारले दिने प्रधानमन्त्री प्रतिभा पुरस्कारका समेत हकदार भईसक्नु भएका रुईत बिश्वकै दुर्लभ आँखा डाक्टरको रुपमा समेत चिनिनुहुन्छ । अन्यन्त सरल उपचार सेवा र कम लागतको मोतिया बिन्दुको शल्यकृया चिकित्सा प्रणालीको विकास गर्ने उहाँ आँखा क्षेत्रमा बिख्यात मानिनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts