बालिकाको शव शंकास्पद भएपछि पोष्टमार्टम गर्न धरान पठाइयो

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार फेला परेको बालिकाको शव शंकास्पद भएपछि पोष्टमार्टम गर्न धरान पठाइएको छ । घरबाट हराएको तीन सातापछि भेटिएको बालिकाको शव पोष्टमार्टम गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना तथा सवन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको आयुजिम्बामा भेटिएको शव गणेश लिम्बूकी छोरी छ वर्षीया सोनिया लिम्बूको हो । गत माघ २५ गतेदेखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्ने क्रममा बिहीबार शंकास्पद अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
प्ररही निरीक्षक कार्कीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शुक्रबार घटनास्थलको मुचुल्का (विवरण) उठाई शव सदरमुकाम ल्याइएको थियो । उहाँका अनुसार घटना शंकास्पद भएकाले शवको पोष्टमार्टम (परीक्षण) गर्न शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
यता घटना शंकास्पद भएपछि बालिकाकी आमा फूलमाया लिम्बू र कान्छाबाबु (झर्केलो बाबु) पूर्णकुमार लिम्बूलाई घटनाबारे सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उहाँहरुसँग बालिकाको घटनाबारे सोधपुछ भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकाकी आमा फूलमायाले पूर्णकुमारसँग केही महिनाअघि मात्र दोस्रो विवाह गरेको बताइएको छ ।