आन्तरिक कार्यसम्पादन मूल्यांकन(सिपीएएस)मा मेचीका ४ जिल्लामा इलाम पहिलो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १७ । गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकन(सिपीएएस)को अर्धबार्षिक मूल्याङ्कनमा मेचीका ४ जिल्लामध्ये ईलाम पहिलो भएको छ ।
यस्तै मेचीका जिल्लाहरुमध्ये झापा दोस्रो,ताप्लेजुङ तेस्रो र पाँचथर चौथो भएका छन् । देशभरका ७७ जिल्लामध्ये इलामले ३८.८८ अंक पाएर समग्रको १२ औं तथा मेचीको पहिलो भएको छ । इलामले पहिलो त्रैमासिक अवधिमा १० औं हुँदा २३.७५ अंक ल्याएको थियो । दोस्रो त्रैमासिक अवधिमा उसको अवस्था खस्किएर २० औं मा पुग्दा १५.१३ अंक ल्यायो । देशभरका जिल्लामध्ये ४८ औं स्थानमा रहेको झापा पहिलो त्रैमासिक अवधिमा १७.७५ अंक सहित ५७ औं स्थानमा थियो । दोस्रो त्रैमासिक अवधिमा उसले अंक तालिकामा फड्को मारी ११ औं स्थानमा उक्लियो । सो अवधिमा झापाले १५.६९ अंक पाएको थियो । यता समग्रमा १८.४१ अंक सहित ७१ औं स्थानमा रहेको ताप्लेजुङले पहिलो त्रैमासिक अवधिमा ७२ औं स्थानमा रहँदै १०.५४ अंक पाएको थियो । दोस्रो त्रैमासिक अवधिमा ६९ औं स्थानमा रहेर उसले आन्तरिक कार्य सम्पादनमा ७.८८ अंक पायो । मेचीका ४ जिल्लामध्ये चौथो भएको पाँचथरले समग्रमा १८.३२ अंक पाएको छ । पाँचथरले पहिलो त्रैमासिक अवधिमा १६.८८ अंक सहित ६९ औं स्थानमा आफुलाई सुरक्षित गरेपनि उसका लागि दोस्रो त्रैमासिक त्यत्ति उपलब्धीमूलक बनेन । दोस्रो त्रैमासिक अवधिमा पाँचथरले ७५ औं स्थानमा रहँदै १.४४ अंकमा सिमित भएको थियो । अंक तालिकाको पहिलो स्थानमा रहेका ४०.८८ अंक,दोस्रो भएको रुकुम पूर्वले ४०.१३,तेस्रो भएको प्युठानले ४०,चौथो भएको रुपन्देहीले ३९.८१ र पाँचौं भएको पर्वतले ३९.६३ अंक पाएका छन् । यस्तै छैटौं भएको नवलपरासी पूर्वले ३९.५६,सातौं भएका डडेल्धुराले र दाङले समान ३९.५०,आठौं भएको काठमाडौंले ३९.४४,नवौं भएको गुल्मीले ३९.१३ र दशौं भएको मोरङले ३९ अंक पाएका छन् । सबैभन्दा कम जाजरकोटले ११.५०,चितवनले १२.१९,बझाङ्ले १४.१० र सिराहाले १७.७५ र दोलखाले १८.०९ अंक पाएका छन् । मन्त्रालयले साउन देखि असोजलाई पहिलो त्रैमासिक,कात्तिक देखि पुसलाई दोस्रो,माघ देखि चैतलाई तेस्रो र बैशाख देखि असारलाई चौथो त्रैमासिक मानेर कार्य सम्पादन मूल्याङ्कन गर्दै आइरहेको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूसँग हरेक साउनमा एकवर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्ने गर्छ । जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरिएको छ । शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रणमा शासकीय प्रबन्ध,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन,मुआब्जा वितरण तथा विकास सहजीकरण, लागूऔषध नियन्त्रण र आन्तरिक कार्य सम्पादन सहितलाई आधार मानेर एकसय पूर्णाङ्कमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts