| |

आफ्नै पार्टीले माग्यो प्रदेश स्वास्थ्यमन्त्रीको राजीनामा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १६ । जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले आफ्नो पार्टीको तर्फबाट कोशी प्रदेशको मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूलाई राजीनामा दिन आग्रह गरेको छ । प्रदेश नामाकरणविरुद्ध पहिचानवादी आन्दोलन चर्किरहेको समयमा आन्दोलनलाई सहयोग पु¥याउन मन्त्री पदबाट राजीनामा दिन लिम्बूलाई आग्रह गरिएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोशी नामाकरणविरुद्धको आन्दोलनलाई ऊर्जा थप्न साथै पहिचानवादीहरुको मनोबल उच्च बनाउनमा सहयोग गर्न पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ । जसपा नेपालकी राजीतिक समिति सदस्य तथा प्रदेश सह–इन्चार्जसमेत रहनुभएकी तावा लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्री रहनुभएको छ ।
प्रदेशको कोशी नामाकरण गर्दा विपक्षमा हस्ताक्षर नगरेको, नामाकरणविरुद्ध आन्दोलनमा पदम लिम्बू (लाजेहाङ) को मृत्यु हुँदासमेत मन्त्री पदबाट राजीनामा नदिनुले सिंगो पार्टीमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै पार्टी र पहिचानको सवालमा प्रश्न खडा भएको अवस्थामा जसपाका इमान्दार पहिचानवादी नेता कार्यकर्ताको शीर नै निहुरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसबेला पार्टीको मुद्दा र आम नेता तथा कार्यकर्ताको राजनीतिक भविश्य बचाउन तत्काल पदबाट राजीनाम दिई सक्कली पहिचानवादी बन्न विज्ञप्तिमार्फत मन्त्री लिम्बूलाई आग्रह गरिएको छ । आफ्नै सांसद मन्त्री पदमा रहिरहनु र त्यही सरकारको विरुद्धमा पार्टी आन्दोलनमा उत्रनुले लज्जा बोधसँगै पहिचान पक्षधर सहयात्रीहरुको प्रश्न तथा प्रतिप्रश्नप्रति नाजवाफ हुनुपरेको जिल्ला अध्यक्ष मादेनले बताउनुभयो ।
यसैबीच बिहीबार नै एक वक्तव्य जारी गर्दै जिल्लास्थित खस जाति एकता समाज, नेकपानिकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले कोशीमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन् । वक्तव्यमार्फत कोशी नामाकरण खारेज गरी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने, लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्नेलगायत मागहरु पनि राखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts