| | |

कोशी नामाकरणविरुद्ध आन्दोलनप्रति जातीय संस्थाको ऐक्यबद्धता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १५ । प्रदेश १ को कोशी नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । जिल्लास्थित आदिवासी जनजाति महासंघसहित जातीय संस्थाहरुले बुधबार पत्रकार सम्मेलन गर्दै कोशीविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएको जानकारी गराएको हो ।
पहिचानको आन्दोलनलाई छलेर षड्यन्त्रमुलक ढंगबाट प्रदेश १ लाई पहिचान बिरोधी कोशी नामाकरण गरिएकाले आफूहरुले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन् । कोशी नाम खारेजी र पहिचान स्थापनाका लागि प्रदेशभरका पहिचानवादी संस्थाहरु एकजुट भएर सशक्त आन्दोलन गर्नुको विकल्प नभएको पनि संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोशी नामाकरणविरुद्ध पहिचानवादी आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) लाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने, कोशी नाम खारेज गर्नुपर्ने, पहिचानवादी आन्दोलनरत पक्षसँग सहमति गरेर पुनः नामाकरण गर्नुपर्ने लगायतका मागहरु पनि जातीय संस्थाहरुले राखेका छन् । यस्तै शान्तिपूर्ण आन्दोलनमा भएको प्रहरी दमन बन्द गर्नुपर्ने, प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने पनि संस्थाहरुले माग गरेका छन् ।
यता आफ्ना मागहरुको सुनुवाई नगरे सबै पहिचान पक्षधर र जातीय संस्थाहरु सशक्त आन्दोलनमा होमिन बाध्य हुने पनि विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाउने ताप्लेजुङका जातीय संस्थाहरुमा नेपाल आदिवासी जनजाति महासंघ, किराँत याक्थुङ चुम्लुङ, नेवा द्य दवु, नेपाल तामाङ घेदुङ छन् ।
त्यस्तै तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्, सुनुवार सेवा समाज, नेपाल शेर्पा संघ, किराँत राई यायोक्खा, राई याक्खा छुम्मा, भुजेल सेवा समाज, तोक्पेगोला सेवा समाज, वालुङ उत्थान समाज र नेपाल मगर संघ रहेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को दोस्रो प्रदेशसभाले गत फागुन १७ गते कोशी नामाकरण गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts