| |

ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १४ । नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको छ । पत्रकार महासंघको ६८ औं तथा नेत्र ज्योतिको ४५ औं स्थापना दिवसको अवसर पारेर मंगलबार ताप्लेजुङमा कार्यररत सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहकार्य तथा नेपाल नेत्र ज्योति संघको समन्वयमा आयोजित आँखा जाँच कार्यक्रममा ४१ जनाले सेवा प्राप्त गरेका छन् । जिल्लाका स्थानीय सञ्चारमाध्यमहरु रेडियो तमोर, रेडियो ताप्लेजुङ, रेडियो काबेली, उज्यालो पोष्ट दैनिक, फक्ताङ्लुङ दर्पण साप्ताहिक, अनलाइनहरुलगायत विभिन्न राष्ट्रियस्तरका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा जाँच गराएका छन् ।
स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरु साथै नेत्र ज्योतिकर्मीहरु समेतको आँखा परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सचिव खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ शाखाका पूर्व अध्यक्षसमेत रहनुभएका अधिकारीका अनुसार आँखा परीक्षणसँगै निःशुल्क चस्मा र औषधि वितरण गरिएको छ । चस्मा लगाउनुपर्ने अवस्था भएकालाई निःशुल्क चस्मा वितरण गरिएको उहाँले बताउनुभयो ।
फुङ्लिङस्थ्ति डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको आँखा जाँच कार्यक्रमको प्राविधिक सहयोग उपचार केन्द्रकै रहेको थियो । कार्यक्रममा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ र क्लिनिकका कर्मचारी काजी थेबेले सहभागीहरुको आँखा जाँच गर्नुभएको थियो ।
यता नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवस चैत १३ गते र नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस चैत १६ गते पर्दछ । आँखा परीक्षण कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखाका पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Similar Posts