दुइदिने बृहत्त मृगौला,मुटु र स्त्री रोग सम्वन्धी निःशुल्क स्वास्थ्य शिविर चलाउँदै सानिमा हाईड्रो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,फागुन ९ । ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्यतमोर जलबिद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी दुईदिने बृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । ७३ मेगावाट क्षमताको यो जलबिद्युत आयोजना ताप्लेजुङमा सञ्चालित अहिले सम्मकै सबैभन्दा ठूलो क्षमताको रहेको छ । आयोजना संयोजक डाक्टर मणिराज पोखरेलका अनुसार सामुदायिक सहयोग कार्यक्रम अन्तरगत फागुन १२ र १३ गते मृगौला रोग,मुटु रोग र स्त्री रोग परीक्षण तथा उपचार सम्वन्धी दुईदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो । पहिलो दिन फागुन १२ गते शुक्रवार आयाजनाको बिद्युत गृह कार्यालय मिक्वाखोला गाउँपालिका वडा न २ चितुब्याङमा र १३ गते शनिवार फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालय परिसरमा शिविर सञ्चालन हुने छ । शिविरमा ई.सि.जी,ईको,भिडियो एक्स–रे,पिसाव जाँच,ब्लड प्रेशर जाँच,पिसावबाट सुगरको जाँच,जनरल जाँच र निःशुल्क औषधि बितरण गरिने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका बरिष्ठ परार्मशदाता नेफ्रोलोजिष्ट डाक्टर कल्पनाकुमारी श्रेष्ठको नेतृत्वमा रहेको बिशेषज्ञ तथा चिकित्सकको टोलीले परीक्षण तथा उपचार गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य सुबिधालाई मध्यनजर गरी यो स्वास्थ्य शिविर आयोजना गरिएको आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिनुभयो । आयोजनाले फक्तालुङ गाउँपालिका वडा नं १ र ३,मिक्वाखोला गाउँपालिका वडा नं १ र २ तथा फुङलिङ नगरपालिका वडा नं ९ र १० का बासिन्दा सहित जिल्ला भित्र र बाहिरका सबै सेवाग्राहीलाई स्वास्थ्यलाभ आर्जन गर्न आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts