| | |

पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २३ । प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्राकृतिक भू–बनावट, अनुपम जैविकतासँगै यहाँको धार्मिक पर्यटकीय स्थललगायतले ताप्लेजुङमा पर्यटनको प्रचुर सम्भावना रहेको मन्त्री आचार्यले बताउनुभयो ।
प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो भ्रमणका क्रममा ताप्लेजुङ आउनुभएका आचार्यले प्रचुर सम्भावना भएर पनि विकास र प्रवर्द्धनमा भने पछि परेकाप्रति दुःख व्यक्त गर्नुभयो । आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन तथा भ्रमण गर्नुहुँदै मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकासका लागि आफूले गर्ने पहलमा कमी हुन नदिने बताउनुभयो ।
प्रदेशसभा सदस्य निर्वाचित भएको मोरङ जिल्ला भए पनि मन्त्री प्रदेश १ को भएकाले पर्यटनका लागि जहाँ प्रसस्त सम्भावना तथा स्रोत रहेको छ, त्यहाँ आफ्नो ध्यान र पहल रहने उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारका तर्फबाट मन्त्री भएको हैसियतले यहाँको पर्यटन विकास र प्रवद्र्धनका लागि आफूले पहल गर्ने बताउनुभयो । सम्बन्धित जिल्लाका तर्फबाट स्थानीय सरकार, राजनीतिक दलका नेतृत्व पङ्क्तीले अलि बढी जोड गर्नुपर्ने बताउनुभयो ।
संघीय सरकारमा पर्यटन मन्त्रालयको नेतृत्व अर्थात मन्त्री नेकपा (माओवादी केन्द्र) कै भएकाले पर्यटन विकासको योजनामा पहल गर्न सहज रहेको उहाँको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री आचार्यले ताप्लेजुङको पर्यटन विकास गर्न संघीय सरकारसँग आफूले समन्वय गर्ने पनि बताउनुभयो ।
उहाँले पर्यटनको प्रचुर सम्भावना भएर पनि हालसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्यहरुको विकास र प्रवर्द्धन गर्न आवश्यक योजना पेश गर्न स्थानीय सरकार तथा पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । यहाँ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमालबाहेक असङ्ख्यौं झरना, ताल–तलैया, धार्मिक स्थलजस्ता पर्यटकीय गन्तव्य रहेको आफूले सुनेकाले ति गन्तव्यहरुको प्रवर्द्धन गरी पर्यटन विकास गर्न सकिने उहाँले बताउनुभयो ।
पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने, संरचना निर्माण गर्नुपर्ने र दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यक हुने भएकाले सबै पक्ष एकजुट भएमा मात्र सम्भव हुने पनि उहाँले बताउनुभयो । कुनै निश्चित स्वार्थ, लोभ र प्रलोभनमा परेर विकास योजना तथा पूर्वाधारमाथि अवरोध पु¥याएमा विकासले गति लिन नसक्नेभन्दै यसतर्फ सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
यता मन्त्री आचार्यले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँग भेटघाट गर्दै सुशासन कायम गर्न र आ–आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा बहन गर्न आग्रह गर्नुभएको छ । यस्तै डिभिजन वन कार्यालयका कर्मचारीसँग उहाँले वन तथा वातारणको विषयमा छुट्टै छलफल गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts