स्वास्थ्य बीमा बापतको रकम नपाउँदा ताप्लेजुङ अस्पतालको ल्याव र फार्मेसी सेवा संकटमा,सांसद भट्टराईद्धारा बीमा अध्यक्ष र निर्देशकलाई तत्काल भुक्तान गर्न आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २३ । स्वास्थ्य बीमावापत झण्डै ५६ लाख बढी रकम पाउन बाँकी रहेपछि ताप्लेजुङ जिल्ला अस्पतालको ल्याव तथा फार्मेसी सेवानै बन्द हुने अवस्थामा पुगेको छ ।
जिल्ला अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम तत्काल नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याव सेवा बन्द हुने अवस्थामा रहेको जनाउनुभयो । करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याव सेवा अस्पताल सञ्चालन समितिले आफैं सञ्चालन गरिरहेको छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त प्रमुख बिजया राईका अनुसार बीमा वापत अस्पतालले ५६ लाख ७८ हजार १ सय ३२ रुपैयाँ पाउन बाँकी रहेको छ । राईका अनुसार आर्थिक बर्ष २०७८।०७९ मा ४३ लाख ४५ हजार ६ सय ३९ रुपैयाँ भुक्तानीका लागि माग दावी गरिएकोमा ५ लाख ४५ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी भएको छ । चालू आव २०७९।०७९ को त माग दावी गरिएको रकममध्ये कुनैपनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालू आवको पुस मसान्त सम्मको १८ लाख ७७ हजार ४ सय ९४ रुपैयाँ स्वास्थ्य बीमावापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी रहेको छ ।
यसैबीच, स्वास्थ्य बीमावापतको रकम भुक्तानी नहुँदा अस्पतालको फार्मेसी र ल्याव सेवा बन्द हुने अवस्था सृजना भएपछि प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक दुबैलाई सम्पर्क गरी तत्काल भुक्तानीको व्यवस्था गर्न आग्रह गर्नु भएको छ । बीमावापतको रकम भुक्तानीका लागि आवश्यक पहल गरिदिन अस्पताल सञ्चालन समितिका सदस्यद्धय आचार्य र ईन्द्रबहादुर गुरुङको अगुवाईमा अस्पताल प्रशासनले सोमवार भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझे लगत्तै सांसद भट्टराईले अस्पताल परिसरबाटै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सेनेन्द्रराज उप्रेती र कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलालाई दुबैलाई सम्पर्क गरी ताप्लेजुङ अस्पतालले पाउनुपर्ने भुक्तानी तत्काल गरिदिन आग्रह गर्नु भएको छ ।‘सातदिन सम्मको त्यहाँको समस्या समाधान गर्छौं भन्नु भएको छ’सांसद भट्टराईले भन्नुभयो । उहाँले आफु मंगलवार काठमाण्डौं पुग्ने र फेरी स्वास्थ्य बीमा बोर्डका अध्यक्ष र कार्यकारी निर्देशक सहितका अधिकारीसंग समन्वय गरी समस्या समाधान गर्ने बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts