| |

ढुंगेसाँघु गाउँमै चिकित्सक पुगेपछि सेवाग्राहीलाई राहत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) को व्यवस्था भएसँगै सेवाग्राहीलाई राहत पुग्ने भएको छ । ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा चिकित्सक पुगेपछि सर्वसाधारण सेवाग्राहीलाई राहत पुग्ने भएको हो ।
आधारभूत अस्पताल अर्थात १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न लागिएको ढुंगेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत स्तरको चिकित्सक व्यवस्था गरिएको छ । गाउँपालिकाको पहलमा स्वास्थ्य केन्द्रमा एमवीवीएस डाक्टरको व्यवस्था गरेपछि सर्वसाधारणलाई राहत मिल्ने भएको हो ।
साविक तीनवटा गाविस समेटिएको मैवाखोला गाउँपालिकासहित जिल्लको पश्चिमी आठराई त्रिबेणी र मेरिङ्देन गाउँपालिकाका नागरिकलाईसमेत राहत पुग्ने भएको छ । ढुंगेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक डाक्टर नवराज चापागाईं पुगेपछि सर्बसाधारण सेवाग्राहीलाई ठूलो राहत मिलेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।
अब मैवाखोला र मेरिङ्देनका छ–छवटा वडा तथा आठराई त्रिबेणी गाउँपालिकाका पाँचवटा वडाका सार्वसाधारणलाई राहत पुग्ने भएको अध्यक्ष वनेमले बताउनुभयो । दक्ष र अनुभवी चिकित्सकको व्यवस्था भएकाले विशेषज्ञबाहेक बाँकी उपचार सेवाका लागि सेवाग्राहीले जिल्ला बाहिर वा अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
हालसम्म स्वास्थ्य केन्द्रमा चिकित्सक (डाक्टर) नहुँदा उपचार सेवा लिनका लागि सर्वसाधारणले मोटो रकम खर्च गरेर सदरमुकाम फुङ्लिङसहित अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । बिहीबारदेखि गाउँमै अर्थात ढुङ्गेसाँघु प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक चापागाईं पुगेपछि सर्बसाधारण सेवाग्राही (बिरामी) ले अन्यत्र जानुपर्ने बाध्यताको अन्य भएको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो ।
प्रवक्ता तामाङका अनुसार चिकित्सक नहुँदा समयमा उपचार सेवा नपाएर ग्रामीण क्षेत्रका कतिपय सर्बसाधारणले ज्यानसमेत गुमाउनुपरेको थियो । यता प्रसूति, रक्तश्रापलगायत कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल आफ्नै क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र जान र चिकित्सकमार्फत आवश्यक उपचार सेवा साथै परामर्श लिनका लागि गाउँपालिकाले सर्बसाधारणलाई आह्वानसमेत गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts