ताप्लेजुङको पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोको जोखिम तत्काललाई टर्यो

ताप्लेजुङ,माघ १० । ताप्लेजुङ पाथीभरा क्षेत्रको जंगलमा लागेको आगालागीको जोखिम तत्कालका लागि टरेको छ ।
पाथीभरा मन्दिर देखि केहि तलको जंगलमा मंगलवार अपरान्ह लागेको आगो माथिल्लो फेदीमा रहेको प्रहरी,स्थानीय बासिन्दा र पाथीभरा क्षेत्रका कर्मचारीहरुको सक्रियतामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)कैलाश राईले बताउनुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोको थप जोखिम बढ्न नदिन प्रहरी,स्थानीय बासिन्दा र पाथीभरा क्षेत्रका कर्मचारीहरु अहिले पनि आगलागी क्षेत्रमै रहेको जानकारी दिनुभयो ।‘तत्काल कुनै जोखिम छैन’जिल्ला प्रहरी प्रमुख राईले भन्नुभयो ।
पाथीभरा मन्दिरको दर्शन गर्न जानु भएका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल र सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति(शसस्त्र डिएसपी)बिनोद थापाले पाथीभरा क्षेत्रबाटै आगलागी नियन्त्रणका लागि आवश्यक समन्वय गर्नु भएको थियो ।
पाथीभरा क्षेत्रका कर्मचारी राजेन्द्र महतले आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआए सम्म सोहि क्षेत्रमा बसेर आगो नियन्त्रणका सबै प्रयास गर्ने योजनामा रहेको सुनाउनुभयो । दुईबर्ष अघि समेत पाथीभरा क्षेत्रमा आगलागी भई मन्दिर क्षेत्र नै जोखिममा परेको थियो । पछि मन्दिर क्षेत्र जोगिएपनि आगलागीले पाथीभरा क्षेत्रको प्राकृतिक सम्पदाको ठूलो हिस्सा बिनास गरेको थियो ।

Similar Posts